जनसम्पर्क समितिले बुझायो दुतावासमार्फत विरोधपत्र

जनसम्पर्क समितिले बुझायो दुतावासमार्फत विरोधपत्र


बेल्जियम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन जनसम्पर्क समिति बेल्जियमले नेपालमा कांग्रेसले थालेको सडक आन्दोलनको एेक्यबद्धता स्वरुप बेनेलक्सको नेपाली दुतावासमा विरोधपत्र बुझाएको छ।

जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङको नेतृत्वमा गएको एक प्रथिनिधि मण्डलले ‘कम्युनिष्ट अधिनायकवाद र सर्वसत्तावादको विरोधस्वरूप’ राजदुत लोकबहादुर थापालाई विरोधपत्र बुझाएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभरि सडकमा उत्रेर विरोध प्रदर्शनका कार्यक्रमहरु आयोजना गर्‍यो । नेकपा नेतृत्वको सरकारविरुद्ध आक्रोश व्यक्त गर्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शनका कार्यक्रमहरु आयोजना गरेको हो । पार्टीकै विरोध कार्यक्रमको ऐक्यबद्धता स्वरूप बेल्जियममा पनि सरकारी कुटनैतिक निकायको माध्यमबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको समितिका अध्यक्ष गुरुङ जानकारी दिएका हुन्।

केपी ओली नेतृत्वको दुई तिहाई बहुमतवाला सरकारले देशमा राजनीतिक स्थायित्व भएको बताइरहेका बेला प्रतिपक्षी दल किन सडकमा उत्रिएको होला ? भन्ने जिज्ञासामा उनले भने, ‘देशमा बढिरहेको हत्या, हिंसा, बलात्कार लगायतका घटनामा सरकारको ध्यानाकर्षण गराउने र शान्ति सुरक्षामा सरकारलाई गम्भीर हुन दबाब दिने काम प्रतिपक्षीको दायित्वभित्र पर्छ । देशमा भ्रष्टाचार बढिरहेको छ, सरकारले सुशासनको प्रत्याभूति गर्न सकेको छैन । समृद्धिको कुरा केवल नारामा सीमित भइरहेको छ । हिंसाका घटनाहरु भइरहेका छन् । सरकार विपक्षीलाई पनि साथमा लिएर अघि बढ्नुको साटो एकलौटी ढंगबाट अघि बढ्न खोजिएको छ । सरकार दुई तिहाइको दम्भमा निरङ्कुश हुन खोज्दै छ । त्यसैले हामी मातृपार्टीको आह्वानमा विरोधमा उत्रन बाध्य भएका हौँ।’

स्मरण रहोस्, बेल्जियममा दुइवटा जनसम्पर्क समितिहरु अस्तित्वमा देखिएका छन् र विरोध कार्यक्रममा समेत दुवै खेमा सँगै जान सकिरहेको देखिएन।