जंगबहादुरका ‘दुस्साहसी’ काम–१

जंगबहादुरका ‘दुस्साहसी’ काम–१


फेब्रुअरी १८४० तिर नेपालका राजा राजेन्द्रविक्रम शाह हात्तीको सिकार खेल्न तराईतिर गए । जंगबहादुरको एउटा दल पनि यसमा सामेल थियो । त्यहाँ उनले राजाका आँखामा प्रत्यक्ष रूपमा आफ्नो बहादुरी र पराक्रम देखाउने अवसर प्राप्त गरे । दरबारको राजकीय सूचीमा उनको नाम दरियो ।

सिकारीहरूले जङ्गली हात्तीलाई घेरामा पारेका थिए, तर त्यसलाई समातेर कैद गर्न सकिरहेका थिएनन् । त्यही बेला जंगबहादुर हातमा बलियो रस्सी लिएर अगाडि हामफाले र आफ्नो ज्यानको माया मारेर रिसले मातेको दारेहात्तीको पछाडिका खुट्टा बाँध्न सफल भए । उनलाई तत्काल पैदल सेनाको कप्तान बनाएर पुरस्कृत गरियो । भाग्यको अन्तिम प्रतिफलका रूपमा राजा राजेन्द्रविक्रम शाहका हातबाट उनलाई यो पुरस्कार प्राप्त भयो । त्यसपछि पनि उनले बहादुरीका धेरै कर्म गरे । तीमध्ये केही हालसम्म पनि सुनिएका–जानिएका छन् । ती बहादुरीका कर्ममध्ये केही हाम्रो पारिवारिक इतिहासमा आधिकारिक रूपमा लेखिएका छन् ।

अप्रिल ५, १८४० मा वसन्तपुर राजदरबारको पटाङ्गिनीमा ‘राँगो युद्ध’ गराइएको थियो । नेपालको राँगाजुधाइलाई स्पेनको प्रसिद्ध साँढेजुधाइ खेलसँग तुलना गर्न सकिन्छ । यस विषयमा कवि लर्ड बाइरनले आफ्नो काव्य ‘चाइल्ड ह्यारोल्ड’मा तस्बिरसहित विविध विवरण दिएका छन् । हाम्रो नेपालमा यस्ता जुधाइहरू साँढेका कहिल्यै हुँदैनन् । सधैँ राँगाजुधाइको मात्र हुन्छन् किनभने साँढेलाई हिन्दूधर्ममा पवित्र जनावरका रूपमा मानिन्छ । हाल भइरहेको सनसनीपूर्ण खेलमा एउटा राँगो युद्ध घेराबाट बाहिर निस्केर राजकीय तबेलामा लुक्न गयो । पीडा र क्रोधले बौलाहाजस्तो भएको त्यो भीमकाय जनावरले उसको नजिक भेटिने जोसुकैलाई पनि हुत्याउने बल गऱ्यो । यस्तो लाग्थ्यो– मानौँ उसले आफ्नो सुरक्षित किल्लाबाट विश्वलाई चुनौती दिइरहेको छ ।

ऊ छिरेको रक्षणस्थलबाट उसलाई समातेर बाहिर निकाल्ने सबै प्रयास विफल भए । त्यसैबीच एक हातमा बलियो रस्सी र अर्को हातमा एउटा कम्बल लिएर जंगबहादुर बिस्तारै राँगोका आँखा छलेर बडो सावधानीपूर्वक उसको खुट्टा बाँध्न सफल भए । उनले राँगोको पुच्छर निमोठ्दै उसलाई बाहिर निकाले । यस्तो विकराल रूप धारण गरेको पशुलाई यति सजिलै बिनाबल प्रयोग काबुमा ल्याएको आफैँमा एउटा आश्चर्यजनक दृश्य थियो । रमिता हेर्न उपस्थित भएका मानिसले मान्यताविहीन यो युवा नायकको मुरीमुरी प्रशंसा गरे । यस अवसर राजाले समेत प्रतिक्रिया जनाए, ‘वास्तवमा जंगबहादुर हामीमध्ये सबैभन्दा वीर पुरुष हो ।’

त्यसको चार महिनापछि जंगबहादुरले फेरि एकपटक अर्को चमत्कारपूर्ण बहादुरी देखाए । अगस्त १, १८४० मा काठमाडौंको कुनै व्यापारीको घरमा ठूलो आगलागी भयो । त्यसबाट मूल्यवान वस्तु बचाइए पनि सबैजसो नजिकका मानिस आफ्नो ज्यान जोगाउने सुरमा त्यहाँबाट यत्रतत्र भागे । बिचरो एकजना महिला र पाँच–छ वर्षकी एउटी बालिका भने समयमै भाग्न सकेनन् । बचाउन सक्ने समय कटिसकेको र आगोले उग्ररूप लिइसकेको अवस्थामा ती दुई हराइसकेका थिए ।

बलिरहेको भवननजिक जाने कसैले पनि साहस गर्न सकेनन् । ती महिलाको लोग्नेसमेत डराएर पछाडि हटे । बिचरी दुई अभागिनीले जीवन रक्षाका लागि गरेको याचना र चीत्कार हृदयविदारक थियो । त्यो हृदयविदारक दृश्य देखेर जस्तोसुकै निर्दयी मानिसको हृदय पनि पग्लन्थ्यो । त्यहाँ दया देखाएर रुन धेरै मानिसको भिड लागेको थियो, तर बबुराको आत्माका लागि सहयोगको हात उठाउने कोही थिएन । एउटा भागबाट फैलिएर अर्को भाग हुँदै आगो एउटा डल्लोको रूपमा परिणत भयो ।

एउटा साँघुरो प्रवेश मार्गमा मात्र आगोले भेटेको थिएन, तर त्यस साँघुरो गल्लीबाट प्रवेश गर्नु सोच्न पनि नसकिने अवस्था थियो किनभने यसमाथिको बिममा आगो लागिसकेको थियो र चट्याङ परेझैँ चड्किरहेको थियो । ठ्याक्कै ढोकैअगाडि घरका जलेका भागका टुक्रा खसिरहेका थिए । ती दुई ज्यानको माया मारिसकेका थिए होलान्, त्यसैबीच जंगबहादुर आइपुगे । दुई अभागी आत्माको पीडा र उनका पति तथा पिताले आफ्नै आँखाअगाडि आफ्ना प्रिय पत्नी र छोरी जिउँदै जलेर खरानी हुन गइरहेको अवस्थामा गरेको टीठलाग्दो याचना र विलौनाका कारण जंगबहादुरको मन दयाभावले पग्लेर आयो । उनले आगोसँग खेलेर जसरी भए पनि आफ्नो लक्ष्य प्राप्त गर्ने निर्णय गरे ।

साथीहरूका चेतावनीका बाबजुद उनी त्यो साँघुरो गल्लीभित्र प्रवेश गरे । त्यस गल्लीभित्र कुनै वस्तु पनि राम्रोसँग देखिन छोडेको अवस्था थियो । धुवाँले पूरै सेरोफेरो ढाकेको थियो । त्यो क्षण अत्यन्त जोमिखपूर्ण, अन्त्यन्त डरलाग्दो र चिन्तायुक्त क्षण थियो । यसपछिको अर्को क्षण भने अवर्णनीय र आनन्दको क्षण थियो ।