सत्याग्रही कस्तो हुनुपर्छ ?

(संयोगका पानाहरू–३६)



467 Shares
  • गोपाल पराजुली

सत्याग्रही एउटा स्थितप्रज्ञ जस्तो हो । उससँग न रिस हुन्छ न राग । न कसैप्रति द्वेष हुन्छ न त घृणा । सत्याग्रहीका रूपमा विश्वमै नाम कमाएका मूर्धन्य व्यक्ति महात्मा गान्धी हुन् । उनका सत्याग्रह पनि यदाकदा इतिहासका पानामा विवादित छन् । सत्याग्रहलाई जीवनको खेलवाड वा कसैप्रतिको प्रतिशोध साँध्ने हतियार बनाइनुहुँदैन । सत्याग्रहबाट कुनै व्यक्तिगत लाभ प्राप्त गर्ने लालसा वा नाम कमाउने इच्छा पनि राख्न हुँदैन । अथवा म पनि महात्मा गान्धीजस्तो बन्न सक्छु भन्ने महत्वाकाङ्क्षी सोचले मात्र पनि सत्याग्रहको उद्देश्य पूरा हुँदैन । सत्याग्रहभित्र हिन्दूदर्शनको एउटा मार्मिक पक्ष छ, ‘अक्रोधेन जयेत्क्रोधमसाधुं साधुना जयेत् ।’ (अर्थात् क्रोधमाथि शान्तिले र दुर्जनमाथि सदाचारले विजय प्राप्त गर्न सकिन्छ) । यसको विस्तारित अर्थ यो पनि हुन्छ कि यदि राज्य रिसाएको छ भने पनि नरिसाईकन राज्यलाई जित्न सक्नुपर्छ । यो उक्ति वेद, भगवान् गौतम बुद्ध र आचार्य कृपलानीसमेतको दर्शनभित्रको सार पनि हो ।

सत्याग्रह एउटा अहिंसात्मक हतियार पनि हो । जसको माध्यमबाट शान्तिपूर्ण तवरले विभिन्न देशमा विभिन्न राजनीतिक उथलपुथल र परिवर्तन भएका छन् । भारतमा अन्ना हजारेको ‘रूख बचाओ’ आन्दोलन, नेपालको ‘भद्रअवज्ञा’ आन्दोलन, विभिन्न राजनीतिक दलहरूले जेलभित्रै गरेको सत्याग्रह र ४२ सालको ‘जेल भरो’ आन्दोलनलगायत कैयन संगठित रूपमै भएका सत्याग्रह सफल पनि भएका छन् ।

कहिलेकाहीँ सत्याग्रहलाई भत्काउन सत्याग्रहभन्दा अझै ठूलो अर्को हतियार पनि छ है भनेर पनि देखाउने चलन छ । त्यसको एउटा दृष्टान्त के हो भने म ०४२ सालमा सत्याग्रहकै क्रममा जेल गएको थिएँ । जेल भरो आन्दोलन चलेको थियो । त्यसबेला दरबारका वरपर बमहरू पड्किए । दरबारका किल्लाहरू भत्काउने कोसिस भए । बडो उपद्रो तरिकाबाट ती कार्यहरू गरिए । उसो त सत्याग्रहबाट डराएपछि शासकले चलाउने अनेकन हतियारमध्ये बाहिर प्रचारमा ल्याउनका लागि त्यस्ता हत्कण्डाहरू सरकारबाटै गरिएका थिए पनि भनियो । तथापि ती काण्डहरूको जिम्मेवारी त्यतिबेला गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले लिनुभएको थियो । उहाँ साँच्चै नै नेपालमा एक सुझबुझ भएका, राजनीतिक स्थायित्व र प्रजातान्त्रिक शासन व्यवस्थाका लागि लडेको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले नेपालको राजनीतिक इतिहासमा उहाँको विशिष्ट स्थान र बेग्लै मूल्यांकन हुने गर्दछ ।

तर, अहिलेका सत्याग्रह, अनसन वा भोक हडताल लगायतका जे–जस्ता गतिविधिहरू सतहमा आएका छन् । ती गतिविधिहरू सत्याग्रहको आदर्शबाट निकै पर छन् । उसो त अदालतमा विचाराधीन मुद्दाका विषयवस्तुभित्रैकै माग राखेर गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीले लामो समय अनशनमा बिताए । अनशनकै क्रममा नन्दप्रसादले प्राण गुमाए । त्यो भोक–हडताल न्यायको लागि गरिएको याचना थियो होला । तथापि विचाराधीन मुद्दालाई एकातिर पन्छाएर राज्यले उहाँको माग सम्बोधन गर्न सकेन होला । जे भए तापनि न्यायको माग राख्नुबाहेक अधिकारीदम्पतीले कहिल्यै कसैलाई गालीगलौज गरेको र क्षुद्र अभिव्यक्ति दिएको हामीले थाहा पाएनौँ ।

फैसला वा आदेशमा चित्त नबुझे कानुनी उपचारको आफ्नै विधि र पद्धति छ । तर, आफूले भनेअनुसारको फैसला अदालतबाट आएन भन्दैमा प्रधानन्यायाधीशलाई नै माफिया, डन र हत्यारा भन्नु कस्तो सत्याग्रह हो ?

तर, अहिले खुवै चर्चामा रहन रुचाउने सत्याग्रहीको नाम धारण गरेका, स्वास्थ्य क्षेत्रमा सुधार गर्न भनि कस्सिएका भनिएका एक चिकित्सकले गरेको भोक–हडताल वा अनशन एकप्रकारको व्यावसायिक सत्याग्रहका रूपमा देखिन थालेको छ । केही मानिसले उक्साउँदैमा, केही मानिसले मच्चाउँदैमा, केही मानिसले नाराबाजी लगाउँदैमा, केही मानिसले उहाँको नाममा कागजको टोपी लगाएर जुलुस निकाल्दैमा समग्र राष्ट्रले त्यसलाई समर्थन गरेको भन्न मिल्छ ?

अनुत्तरदायी अभिव्यक्ति र भाषणको कुरा गर्दा मलाई बेलायती इतिहासको एक रोचक घटना स्मरण हुन्छ । बेलायतमा लेवर पार्टीका कुनै एक नेता थिए अरे । असाध्यै उत्तेजक भाषण गर्ने । एकपटक कुनै सभामा उनले भयंकर भाषण गरेछन् । सबैले वाहवाही गरेछन् । ताली बजाएछन् । बेलायतको इतिहासमा यस्तो भाषण कहिल्यै सुनिएको थिएन पनि भनेछन् । मानिसले उनलाई काँधमा बोकेर शहरको बाहिर पुऱ्याउन थालेपछि ती नेताले– ‘मलाई किन यतातिर ल्याएको ?’ भनी सोधेछन् । उनलाई बोक्ने मानिसले जवाफ दिएछन् कि ‘तिमी बेलायतको राजनीतिको लागि परिपक्व मान्छे पनि रहेनछौ । तिम्रा अभिव्यक्तिहरू जिम्मेवारपूर्ण पनि छैनन् । तिमीले भनिरहेका कुराहरू हाम्रो राज्यको स्रोत र संरचनाले पूरा गर्न पनि सक्दैन । तिमी अनुत्तरदायी कुरा गरिरहेका छौ । तिमीलाई राजनीतिक रूपबाट चुनाव जिताउन होइन कि सदाको लागि थेम्स नदीमा फ्याँक्न लैजाँदै छौँ ।’ यसप्रकारको अनपेक्षित जवाफले ती नेता झल्याँस्स भएछन् र उनमा अलिकति सुझबुझ एवं चेतना आएछ ।

कतै गोविन्द केसीका अभिव्यक्ति र मागहरू ती बेलायतका लेवर पार्टीका नेताले गरेकोजस्तो क्षणिक उत्तेजनाको उपज त होइन ? नत्रभने राजनीतिक पार्टीहरूले छेपाराले रंग बदलेजस्तो सरकारमा छँदा गोविन्द केसीको विपक्षमा र सरकारबाहिर रहँदा उनको पक्षमा लाग्ने हो त ?

यदि उनी साँच्चै नै सत्याग्रही हुन् भने पहिला उनी स्वयं अहिंसावादी हुनुपर्छ । कसैका प्रति व्यक्तिगत लाञ्छना र चोट पुग्ने अभिव्यक्तिसम्म दिन हुँदैन । बहालवाला प्रधानन्यायाधीशलाई अत्यन्तै अशिष्ट र असभ्य भाषा शैलीमा गालीगलौज एक सत्याग्रहीले कहिल्यै गर्दैन । फैसला वा आदेशमा चित्त नबुझे कानुनी उपचारको आफ्नै विधि र पद्धति छ । तर, आफूले भनेअनुसारको फैसला अदालतबाट आएन भन्दैमा प्रधानन्यायाधीशलाई नै माफिया, डन र हत्यारा भन्नु कस्तो सत्याग्रह हो ? न्यायाधीश र न्यायालयको नै मानमर्दन गर्ने किसिमले अभिव्यक्तिहरू दिएपछि उनका विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भयो । यदि यो राज्यमा थिति बसाल्ने हो भने, यदि राज्यलाई संविधानबमोजिम चलाउने हो भने, अदालतलाई स्वतन्त्र राख्ने हो भने यस किसिमका थर्काहटबाट अदालत आत्तिनुहुँदैन । अदालतले आफ्नो गति छोड्नुहुँदैन भनेर नै उनलाई बयानका लागि बोलाइयो । तर, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता भनिएकाहरू अनि एनजीओ, आईएनजीओबाट पृष्ठपोषण प्राप्त गरिरहेका कतिपय कथित विद्वानहरुले कान्तिपुर पत्रिकामार्फत मलाई खुवै गाली गरे । तर, के म डन थिएँ त ? के म हत्यारा थिएँ ? वा माफिया थिएँ ?

म त न्यायिक स्वतन्त्रताका लागि एक्लै लडिरहेको व्यक्ति थिएँ । तर, मेराउपर जुन किसिमका आततायी अभिव्यक्तिहरू दिइए त्यो दुनियाँमै सबैभन्दा ठूलो हिंस्रक कार्य हो । त्यस्ता हिंस्रक व्यक्ति कहिल्यै सत्याग्रही हुन सक्दैनन् । त्यस्ता व्यक्तिहरूले गरेको भोक–हडताललाई कदापि सत्याग्रह मान्न सकिँदैन । अहिंसाभित्र के–के हुनुपर्छ ? गौतम बुद्धका उपदेश सबैलाई थाहा छ । झुटो बोल्नुहुँदैन । कसैलाई पनि आतंकित व्यवहार गर्नुहुँदैन । कसैलाई पनि नराम्रो व्यवहार गर्नुहुँदैन ।

गोविन्द केसीले अदालतमा दिएको बयानमा मैले न्यायालयलाई होइन एउटा व्यक्तिलाई गाली गरेको हुँ भनेका छन् । के न्यायालयको नेतृत्वमा रहेको प्रधानन्यायाधीश केवल व्यक्ति मात्र हो ? अनि के प्रधानन्यायाधीशका उपर लगाइएका लाञ्छना कतैबाट प्रमाणित हुन सक्यो त ? जबसम्म आफ्ना आरोप गोविन्द केसीले प्रमाणित गर्न सक्दैनन् तबसम्म उनीजत्तिको निकृष्ट मानिस कोही हुनै सक्दैन । मेरो दृष्टि र नजरिया मात्र होइन, मेरो विश्लेषण पनि के हो भने उनले अहिले पनि राज्यशक्तिलाई थर्काइरहेका छन् । आतंकित पारिरहेका छन् । राज्यको व्यवस्था चल्न दिँदैनन् । राज्यलाई आफ्नो मनमौजी चलाउन चाहेका छन् । सैनिक शासनमा हतियारद्वारा मान्छे आतंकित हुन्छन् होला । त्यसै किसिमले सत्याग्रहको नाममा राज्यका निकायलाई आतंकित र हतोत्साही वनाउने काम भइरहेको छ ।

अनुत्तरदायीपन र अराजक अभिव्यक्तिबाट प्राप्त हुने चर्चाका लागि लालायित लोभीहरूले नाम कमाउनका लागि गरेका अनशन, दाउपेचमा गरेका भोक–हडताल, कसैको एजेन्ट बनेर कुनै मिसनका लागि गरेका आन्दोलन, कसैलाई गिराउन र कसैलाई उठाउन गरेका कार्यहरू सत्याग्रह हुनै सक्दैनन् ।

उनले गोपाल पराजुलीका चारवटा नागरिकता छन् भन्दै हिँडे । एसएलसी नै पास गरेको छैन भन्दै हिँडे । कहिले नवलपरासी, कहिले तनहुँ, कहिले वीरगञ्ज पुगेर मेरा प्रमाणपत्रहरू खोजतलास गर्दै हिँडे । कालान्तरमा उनकै चारथरी जन्ममिति भेटिए । त्यो पनि उनी आफैँले आफ्नै हातले बढुवा प्रयोजनार्थ भर्ने फाराममा लेखेका । तर, कति सजिलै त्यसलाई उनले मानवीय त्रुटि भनिदिए । अनि कति सजिलै मानिसहरूले उनका कुरा पत्याइदिए । जब कि राज्यको अव्यवस्थित स्रेस्ता प्रणालीका कारण अरू कसैले नै फरक पारिदिएको मेरो जन्ममितिको सन्दर्भमा चाहिँ उनका समर्थकले गोपाल पराजुलीका थरी–थरी नागरिकता भनी हल्ला मचाइदिए । अझ गोपाल पराजुलीबाट आतंकित भएँ भन्दै एकजना वरिष्ठ अधिवक्ताले त सीडीओ कार्यालयमा हुलहुज्जतका साथ उजुरी नै लिएर गए । तत्कालीन गृहमन्त्रीको निर्देशनमा क्षेत्राधिकारविहीन त्यो उजुरीसमेत दर्ता गराइयो ।

न्यायालयको शाखलाई समाप्त पार्नका लागि अमूक राजनीतिक दलसमेत लागेको विडम्बनापूर्ण अवस्था थियो त्यो । गोपाल पराजुलीलाई पदबाट मुक्त गरेपछि एकछत्र रूपमा न्यायालयमाथि कब्जा जमाउन सकिन्छ भन्ने उनीहरूको चिन्तन थियो होला । त्यसभित्र पनि अनेकन राजनीतिक स्वार्थ र दाउपेच थिए होलान् । तर, कुरा के हो भने सत्याग्रहीका कुनै पनि शब्दले कसैका उपर प्रहार गर्नुहुँदैन । अराजक ढंगबाट अनुत्तरदायी कुराहरू गरेर, अस्पतालको शय्यामा तेर्सो परेर नाडीबाट स्लाइन र ग्लुकोज चढाएर सम्भवतः मुलुक बन्दैन । देशको सुधार दूरगामी थिति बसालेर हुन्छ । जयस्थिति मल्लले बसालेको थिति अहिलेसम्म पनि चल्दै छ । गोविन्द केसीको अनशनले कुनचाहिँ थिति बस्यो त ? के संविधानको मर्म र भावनाअनुसार न्यायालय चल्यो त ? स्वास्थ्य र शिक्षामा कुनचाहिँ सुधार स्थायी ढंगले भयो त ?

तसर्थ अनुत्तरदायीपन र अराजक अभिव्यक्तिबाट प्राप्त हुने चर्चाका लागि लालायित लोभीहरूले नाम कमाउनका लागि गरेका अनशन, दाउपेचमा गरेका भोक–हडताल, कसैको एजेन्ट बनेर कुनै मिसनका लागि गरेका आन्दोलन, कसैलाई गिराउन र कसैलाई उठाउन गरेका कार्यहरू सत्याग्रह हुनै सक्दैनन् । त्यस्ता कार्यलाई अहिंसात्मक पनि मान्न सकिँदैन ।

महात्मा गान्धीलाई किन मारेँ भन्ने विषयमा नाथुराम गोड्सेले अदालतसमक्ष बडो मार्मिक बयान दिएका थिए । पाकिस्तानमा १५ हजार हिन्दूको कत्लेआम हुँदा, १५ लाख हिन्दू त्यहाँबाट विस्थापित हुँदा, उनीहरूले धर्मशालामा समेत बास नपाएको जुन किसिमको पीडादायी अवस्थालाई उनले महसुस गरे, त्यही पीडाले उनलाई गान्धीमाथि गोली चलाउन उक्सायो । तर, यसो भन्दैमा नाथुराम गोड्सेको कार्यलाई क्षम्य मान्न सकिँदैन । किनकि उनले हिंसाको बाटो रोजेका थिए । सभ्य समाजमा हिंसाको कुनै स्थान हुँदैन । हिंसाको बाटो रोजेकाले नै नाथुराम गोड्सेको पतन भयो । उनी आलोचित हुन पुगे ।

मेरो भनाइको तात्पर्य के हो भने राज्यका निकायहरूलाई क्रमशः कमजोर बनाउँदै जाने अभियानबाट प्रायोजित गोविन्द केसीको अनशनलाई सत्याग्रह मान्न सकिँदैन । सत्याग्रह र अनशनको नाममा हिंसात्मक गतिविधिलाई वैधता दिन मिल्दैन । हिंसा स्वयम् नै सत्याग्रहको दुस्मन हो ।

पहिलेको पनि हेर्नुहोस्-

राजनीतिक शक्ति र माफिया-मिडियाका दाउपेचबाट प्रभावित न्यायिक स्वतन्त्रता
http://www.ghatanarabichar.com/134284

467 Shares

प्रतिक्रिया