हिमालपारी ‘स्नो स्की च्याम्पिनशीप’ को मज्जा (फोटोफिचर)

हिमालपारी ‘स्नो स्की च्याम्पिनशीप’ को मज्जा (फोटोफिचर)


हिमाली मुलुक नेपालले हिउँदे खेलहरुसंगको साइनोलाई अब भने बलियो बनाउने सम्भावना उजागर भएको छ । शीतकालीन ओलम्पिकसंग सन् २०१० देखि मात्र जोडिएको नेपालले बाँकी हिउँदे खेलहरुसंग पनि खासै सम्बन्ध बनाउन सकेको छैन ।

नेपालमा हिमाल प्रशस्त भएपनि र हिउँ बाह्रै महिना पर्ने भएपनि नेपालको हिउँलाई खेल मैत्री मानिदैनथ्यो । नेपालको हिमालहरुको कठोर भौगोलिक वनावट र कडा प्रकृतिको हिउँको कारण नेपालको हिउँलाई खेलमैत्री हिउँ मानिदैनथ्यो । तर यसपटक मुस्ताङले त्यो पुरानो तथ्यलाई गलत सावित गर्दै नयाँ सम्भावना उजागर गरेको छ ।

मुस्ताङमै पहिलोपटक स्नो स्की च्याम्पियनशीप सम्पन्न भएको छ । वारांगु मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ क्षेत्रमा पहिलोपटक स्की एशोसिएशनको आयोजनामा च्याम्पियनशीप सम्पन्न भएको हो । नेपालमा दोस्रोपटक पटक आयोजना भएको भएपनि मुस्ताङको लागि भने यो पहिलो हो । सोझै पर्यटनसँग जोडिएको स्की खेललाई निरन्तर रुपमा अगाडि बढाउन अब गाउँपालिकाले पनि पहल गर्ने बताइएको छ ।

मुस्ताङ प्रकृतिको धनी जिल्ला हो । यहाँ रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक धरोहर नै यहाँको मुख्य पहिचान हो । त्यसैले कठ्याङ्ग्रिदो जाडोमा पनि पर्यटकहरु त्यहाँसम्म पुगेर आफुलाइ आनन्दित बनाइरहेका छन् । मुस्ताङको चर्चित धार्मिक स्थल मुक्तिनाथ परिसरमा स्की एशोसिएशनको एक टोली पुग्यो । देशभरका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेर मुक्तिनाथ पुगेका खेलाडीहरु अहिले त्यहाँ स्की च्याम्पियनशीपमा भाग लिएका थिए ।

नेपाल स्की एशोशियशनको मुख्य आयोजनामा भएको स्की च्याम्पियनशीप शनिबार सम्पन्न भएको छ । उक्त स्की प्रतियोगिताको फाइनलमा सहभागी खेलाडीका लागि बुधबारदेखि प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रतियोगितामा स्नोबोर्ड स्की र अल्पाइन स्की बिधामा प्रतिष्पर्धा गर्न १४ महिला र १४ पुरुष खेलाडी सहभागी भएका थिए ।

एक हप्ता अघिदेखि परेको हिउँ अझै पग्लिएको छैन । खेलको माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले मुक्तिनाथमा स्की प्रतियोगिता आयोजना गरिएको आयोजक स्की एशोसिएशनले बताएको छ । शुक्रबारदेखि मुस्ताङ जिल्लाभर लगातार रुपमा भारी हिमपात भएको थियो । हिमपात साताभर परिरहदा सिङ्गो मुस्ताङ नै सेताम्य बनेको छ । चाँदी जस्तै टल्किरहेको मुस्ताङ अहिले आन्तरिक पर्यटकको रोजाइमा छ । जिल्लाको पाँचवटै गाउँपालिका हिउँले ढाकिएपछि केहिदिन यता आन्तरिक पर्यटकहरूलाइ त्यहाँसम्म जानको लागि बाटो खुलेको हो ।

थासाङ गाउँपालिका ४ घासादेखि उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकासम्म परेको भारी हिमपात अहिलेसम्म पग्लेको छैन । यसैले पनि आन्तरिक पर्यटकहरु मुस्ताङ जान हौसिएका छन् । त्यसो त एक दशक लामो समय अन्तरालमा परेको हिमपातले विशेष गरि कागबेनीदेखि माथिल्लो क्षेत्रहरूमा बढी प्रभाव देखिएको हो । यसैको आधारमा वारांगु मुक्तिक्षेत्र गाउँपालिका मुक्तिनाथ परिसरमा स्की खेल प्रतियोगिता सम्भव भएको हो ।

यसै क्रममा मुक्तिनाथका युवा अभियन्ता सुरज गुरुङले आगन्तुक स्की खेलाडीहरुलाई मुक्तिनाथ परिसरमा स्वागत गर्दै आभार व्यक्त गरेका छन् । उनले मुस्ताङको पहिचानलाई देशमा मात्र नभै संसारभर चिनाउन यस खेलले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

यसपटक समग्र मुस्ताङ जिल्लालाई नै फाइदा पुगेको छ । उनले भने, ‘पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईको गन्तब्य भनेको मुस्ताङको मुक्तिनाथ क्षेत्र नै हो । यसका साथसाथै मुस्ताङको अन्य पर्यटकीय स्थानहरूमा पनि खेलको लागि स्थलगत अभ्यास गर्न आवश्यक छ ।’

भौतिक पूर्वाधारको निर्माण कार्यलाई सफल पार्न सकेको खण्डमा जिल्लालाई फाइदा पुग्ने र खेलबाट पनि मुस्ताङलाई विश्वसंग जोडन सकिने पनि गुरुङको भनाई छ । आफूले यस विषयमा धेरै अघिदेखि नै सोचेको र अहिले आएर सम्भव भएको पनि गुरुङको भनाइ छ । यसलाई निरन्तर रुपमा अगाडि लैजान सम्भव नभएपनि बेलामौकामा यो खेल आयोजना गर्ने र सकेसम्म निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

यसले समग्र मुस्ताङको पर्यटन व्यवसायलाई नै टेवा पु¥याएको उनले बताए । वास्तवमा स्की च्याम्पियनशीप नेपालको लागि दोस्रो भएपनि मुस्ताङको लागि पहिलो भएकोले आफुहरुलाइ गौरव लागेको बताए । यसैगरी वारांगु मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख फेन्चोक छेप्टेन गुरुङले पनि स्की खेलले मुस्ताङको पर्यटनलाई थप उजागर गर्ने बताए । उनले हिमाली जिल्ला मुस्ताङको पहिचान खेल जगत पनि भएको बताउदै यस्ता खालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलले मुस्ताङको गरिमालाइ सीधै सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

स्की एशोसिएशनद्वारा धार्मिकस्थल मुक्तिनाथ परिसरमा यसप्रकारको च्याम्पियनशीप आयोजना हुनु भनेको समग्र मुस्ताङको पहिचानलाई थप चुल्याएको बताए । उनका अनुसार मुक्तिनाथ क्षेत्रको सवारी पार्किङ गर्ने स्थानलाई अस्थायीरुपमा प्रयोग गरि च्याम्पियनशीप आयोजना गरिएको हो ।

पार्किङ स्थलको करिब ४०० मिटर जमिनमा हिउँ जमेको स्थानलाई सदुपयोग गरि स्की च्याम्पियनशीप आयोजना गरिएको गाउँपालिका प्रमुख फेन्चोक छेप्टेन गुरुङले बताए । उनका अनुसार यसले विन्टर टुरिजमलाई टेवा पुग्ने भएकोले अन्तराष्ट्रिय स्की खेलका खेलाडीहरुलाइ समेत ध्यानाकर्षण गराउन सकिने छ ।

हाललाई मुक्तिनाथ नजिकैको बसपार्कमा अस्थायी रुपमा खेल खेलाइए पनि भाबी दिनमा एउटा रुट लाइन बनाएर खेलाउन पहल गर्ने गुरुङले बताए । यदि अर्को बर्ष पनि आयोजना भयो भने झार्कोटको लुप्रा जाने बाटो र खिङ्गा आउजाउ गर्ने बाटोलाई प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यसमा गाउँपालिकाले आवश्यक बजेट छुट्याएर काम अगाडि बडाउने पनि सोच बनाइसकेको जानकारी पनि उहाँले दिनुभयो । त्यस आसपासका क्षेत्रहरू स्कीको लागि उपयुक्त स्थान भएकोले अब चाँडैने डोजर लगाएर काम अगाडि बढाउने समेत गुरुङको भनाइ छ । यसैगरी स्की एशोसिएशनका सदस्य एवम् यस खेलका मुख्य संयोजक अर्जुन महर्जनले मुक्तिनाथमा आएर स्की च्याम्पियनशीप आयोजना गर्न पाएकोमा थप हौसला बढेको बताए ।