आत्मकथा जस्ताको तस्तै लेख्न नसक्ने केपी ओलीको स्वीकारोक्ति

आत्मकथा जस्ताको तस्तै लेख्न नसक्ने केपी ओलीको स्वीकारोक्ति


वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) आयोजित कार्यक्रममा डा. सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेखेका पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिए।

उनले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न समेत सायमीलाई सुझाव दिए । ‘कस्ता-कस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ’ प्रम ओलीको कथन थियो ।

पुस्तक लेख्न अलि हतार भएको हो कि भन्ने महसुस भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नै कहानीको नाममा अरुका कहानी पुस्तकले समेटेको उल्लेख गरे । देशमा विभिन्न विषेशता बोकेका डाक्टर रहेको उल्लेख गर्दै उनले पुस्तकबारे भने, ‘तपाईंको पुस्तक राम्रो छ यो सानो प्वाल भएको आँखीझ्याल हो, थोरै पाटो समेटिएको छ, तर आत्मवृत्तान्त निर्मम हुनुपर्छ ।’

अहिले धेरै काम गर्न बाँकी भएकाले डा. सायमीले धेरै कुरा नखोतलेको बताउँदै प्रधानमन्त्री ओलीले जब मान्छेले कुनै सम्मान, मान प्रतिष्ठा खोज्न रहर गर्दैन त्यसपछि भने यथार्थ कुरा आउने तर्क गरे। ‘अहिले तपाईं सबै यथार्थ लेख्न सक्नुहुन्न, किनकि तपाईंलाई अझै केही गर्न मन छ, कोही रिसाउलान् कि भन्ने डर छ, म पनि अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न सक्तिनँ, किनकि पार्टी चलाउनुपर्छ, प्रधानमन्त्री भएर देश चलाउनुपर्छ ।’

उनले यथार्थ साहित्यिक कृति भनेको प्रस्तुतिको चमत्कार भएको उल्लेख गर्दै कृति लेख्दै जान डा. सायमीलाई सुझाव दिए ।

डा सायमीले डाक्टरी उपचार गरेको बताउँदै प्रधानमन्त्रीले भने ‘पार्टी चलाउने उपचार प्रभावकारी छ कि छैन, मेरो मात्रै उपचार छ कि अरुको पनि उपचार छ, पुस्तक हेर्न बाँकी नै छ ।’

डा सायमीले आफ्ना धेरै साथी बितेर गइसकेको प्रसङ्ग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले कुनै कारणले साथी बितेर गएकामा चिन्ता लिनुभन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै लेखक डा. सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको र आफ्नो ६१ वर्षे जीवनकालका अनुभवहरु समेटेको उल्लेख गरे।

डा. सायमीको चिकित्सकीय योगदानबारे बोल्दै डा. शशी शर्माले निडर स्वभावका कुशल प्रशासक, चिकित्सक, प्राध्यापक र अरुलाई हौसला दिने प्रेरणाको स्रोतका व्यक्तिको संज्ञा दिए । उनले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका संस्थापक अध्यक्ष, आफैँले मुटुरोगको ओपिडी शुरु गरेका व्यक्ति र ठूलो दिल भएको उदाहरणीय व्यक्ति भन्दै उनको योगदानको चर्चा गरे । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उपचार गरेका डा. सायमी साहित्यिक, सामाजिक, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा योगदान दिने व्यक्ति भन्दै उनले प्रशंसा गरे ।

pic: rss