श्रीमानको नाममा पिण्ड बटार्दै श्रीमती

श्रीमानको नाममा पिण्ड बटार्दै श्रीमती


  • रेजिना गौतम, विर्तामोड (झापा)

दशगात्र कर्ममा सरिक हुँदा छोरी र श्रीमतीले पिण्ड पकाउने, पिण्ड दिने हिन्दू शास्त्रमा उल्लेख नभएको व्याख्यासहित छोरी र श्रीमतीले १३ दिनसम्म झोक्रिने तथा आउने–जानेसँग बोल्ने मात्र गरेको पाइन्छ । तर, झापाको विर्तामोड–१ का देवी घिमिरेका श्रीमती र छोरी भने आफैं पिण्ड पकाउँछन्, गुरुको निर्देशनअनुसार पिण्ड पूजा गर्छन् र पिण्ड सेलाउँछन् ।

दिवंगत देवीको इच्छाअनुसार आफूहरुले यस्तो गरेको घिमिरेकी श्रीमती चन्द्रकला घिमिरेले बताइन् । उनले भनिन्, ‘गुरुले आएर तिलकुश दिनुहुन्छ, हामी वाथरुमभित्र नुहाउँछौँ, पुरुषले बाहिर नुहाउँथे फरक त्यति मात्र हो ।’

साविक गरामनी गाविसका पूर्वअध्यक्ष समेत रहेका देवीप्रसाद घिमिरेको गत माघ १० गते निधन भएको थियो । खोटो संकलन कार्यलाई व्यवसायका रुपमा अपनाउँदै आएका घिमिरेले त्यसअघि नै प्रसंगवश कुरा चल्दा आफ्नो किरिया श्रीमती र छोरीले नै गरुन् भन्ने चाहना व्यक्त गरेका रहेछन् । त्यसबमोजिम नै आफूहरुले आफैं पिण्ड पकाउने र पिण्ड दिने गरेको बताउँदै श्रीमती घिमिरेले थपिन्, ‘उहाँको इच्छाअनुसार नै छोरीहरु पिण्ड पकाउँछन्, म पिण्ड बटार्छु, चारैजना भएर पिण्ड पूजा गर्छौं, अनि छोरीहरूले लगेर पिण्ड सेलाउँछन् ।’

आफूहरु सानै छँदादेखि नै बुबाले हामी मर्दा सक्यौ किरिया आफैं गर्नु नसके बरु छोडिदिनु तर अरु कुनै घिमिरेको छोरो खोजेर नगर्नु भन्दा अचम्म लागे पनि अहिले मात्रै त्यसको महत्व बुझेको माइली छोरी इन्जुले बताइन् । दिवंगत बुबाले भनेको कुरा स्मरण गर्दै उनले भनिन्, ‘त्यतिबेला के भन्नुभएको होला बुबाले, यो त सानो कुरा हो नि, हामी आफैं गरिहाल्छौँ, त्यति पनि भन्नुपर्छ ! यो त हामी छोरीहरूको पनि कर्तव्य हो भनेजस्तो लाग्थ्यो, तर अहिले मात्र त्यसको महत्व बुझेँ । बुबाले छोडेर जाँदै गर्दा पनि यो समाजमा भएको कुरीति हटोस् र परिवर्तन आओस् भन्ने अभिलाषा राख्नुभएको रहेछ ।’

महिलालाई दशगात्र कर्म गराउँदा पुरोहितले कतिको सहज मान्नुभएको छ भन्ने जिज्ञासामा इन्जुले भनिन्, ‘सजिलो–अप्ठ्यारो अनुभवबारे आफूलाई थाहा नभएपनि बेला–बेला घुमाउरो पारामा व्यङ्ग्य भने हुन्छ ।’

संविधानले छोराछोरी बराबर माने पनि अन्तबाट खोजेर ल्याउनु गलत भएको घिमिरे परिवारकी सदस्य तथा संविधानसभा सदस्य जीवन घिमिरेले बताइन् । घिमिरेको अन्त्येष्टीमा आफू आइनपुग्दा एककदम पुरानो परम्पराले जितेको बताउँदै भनिन्, ‘म भएको भए बहिनीलाई सेता लुगा लगाउन दिनेथिइनँ ।’

सामाजिक रूपमा छोराछोरी बराबरी भएको तर्क गर्दै घिमिरेले भनिन्, ‘अर्काको मान्छे खोजेर काम गर्नु गलत हो, हाम्रोमा अरु कोही खोजेर ल्याउनुपर्छ भनेको भए पनि पार लाग्ने थिएन ।’

गुरुपुरोहित पनि परम्परागत सोचाईबाट माथि उठ्न नसकेको बताउँदै उनले थपिन्, ‘उहाँहरूमा पनि छोरावादी सोच यथावत नै छ, कन्जरभेटिभ सोचाईबाट माथि उठ्न सक्नुभएको छैन, अरुले अप्ठ्यारोमा पार्छन् भनेर पनि होला ।’

वास्तवमै, छोराछोरी दुवै बराबरी भनेपछि शास्त्रमा विभेद भए पनि त्यसलाई परिस्कृत गरेर समयानुकुल सबैलाई मान्य हुने संस्कारको विकास गर्न जरुरी छ ।