सेता कपासझैं फिँजिएको कुहिरोभित्र बन्दीपुर

सेता कपासझैं फिँजिएको कुहिरोभित्र बन्दीपुर


पर्यटकिय नगरी बन्दीपुरले पहाडकी रानीको उपमा पाएको छ । प्रकृतिले सिँगारिएको बन्दीपुरले यहाँ पुग्ने जोकसैको पनि मन हर्छ । उत्तरतर्फ लमतन्न हिमशृङ्खलाबीच बिहानीको समयमा हिमालदेखि बन्दीपुरसम्म सेता कपासझैं फिँजिएको कुहिरोभित्र बन्दीपुर पर्यटकको पर्खाइमा बसिरहेको छ ।


काठमाडौं–पोखरा (पृथ्वी) राजमार्गमा पर्ने डुम्रे बजारबाट आठ किलोमिटर दुरीको यात्रापछि बन्दीपुर पुग्न सकिन्छ । यहाँ प्राचीन मल्लकालदेखिका संरचना पनि देख्न सकिन्छ । तनहुँ, कास्की, लमजुङलगायतका पश्चिमी जिल्लाका लागि तराईबाट नून ओसार्ने मार्ग पनि बन्दीपुर भएर नै जाने गरेको थियो ।


प्राकृतिक हिसाबले सुन्दर र व्यावसायिक चहलपहल कम हुन थालेपछि त्यहाँका केही व्यवसायीले यसलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना बनाए र विस्तारै तिनैको योजनाअनुसार नै बन्दीपुरले आफूलाई व्यापारिक नगरीबाट पर्यटकीय नगरीका रूपमा परिचय बनाउँदै गएको पाइन्छ ।


अहिले नेपालमा मात्र नभएर विश्वमै यसले आफूलाई सुन्दर पर्यटकीय नगरीका रूपमा परिचय दिनमा सफलता पाएको छ । मगर र नेवार संस्कृतिको धनी यस ठाउँमा प्राकृतिक दृश्यावलोकनका साथै पछिल्लो समयमा ट्रेकिङ, र्‍याफ्टिङ, एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाको अवलोकन, प्याराग्लाइडिङ, मस्र्याङ्दी नदीको र्‍याफ्टिङलगायत विशेषता एकअर्को गर्दै थपिन थालेपछि यहाँको पर्यटन व्यवसायले गति बढाउँदै गएको छ ।