मनीषाको क्यान्सर-अनुभव सुन्दा श्रोताका आँखामा वर्षात !

मनीषाको क्यान्सर-अनुभव सुन्दा श्रोताका आँखामा वर्षात !


अन्तिम स्टेजको ‘ओवरियन क्यान्सर’लाई पराजित गर्दै दोस्रो जन्म प्राप्त गरेकी चर्चित बलिउड नायिका मनीषा कोइरालाले जयपुरमा आयोजित एक कार्यक्रममा आफ्नो क्यान्सरबारे बताउँदा त्यहाँ उपस्थित सयौँ दर्शकको आँखाबाट आँसु झरेको छ ।

मनीषाको अभिव्यक्ति थियो– ‘जब मैले आफूलाई क्यान्सर भएको थाहा पाएँ त्यो रात मेरो जीवनको सबैभन्दा लामो रात थियो । साँचो रूपमा भन्नुपर्दा त्यो रातको समय रोकिएको थियो, म चुर्लुम्म पसिनामा डुबेकी थिएँ । छटपटी यति बढेको थियो कि बिहानी कहिले हुन्छ भनेर प्रतीक्षामा बसेकी थिएँ ।’

‘पहिलो रिपोर्टअनुसार बाँच्ने आशा मारिसकेकी थिएँ, तर दोस्रो प्रशिक्षणपछि बाँच्ने आशा जाग्यो । मैले दोस्रो प्रशिक्षणमा पहिलो प्रशिक्षण गलत निस्कने विश्वास गरेको थिएँ, तर त्यस्तो भएन । त्यसपछि काठमाडौंदेखि मुम्बईसम्मको दुई घन्टाको मेरो यात्रा पूरै जिन्दगीकोे यात्राजस्तै बनेको थियो ।’

क्यान्सरको लडाइँ जितेपछि मनीषाले ‘हिल्ड’ नामक एउटा किताब लेखेकी छिन् । हालै जयपुरमा आयोजित लिटलेचर फेस्टिबलमा मनीषाले फेस्टिबलका डाइरेक्टर संजोय के रायका साथ यो किताबमार्फत त्यहाँ उपस्थित व्यक्तिहरूसँग अनुभव आदानप्रदान गरेकी हुन् । सो अवसरमा मनीषाले बिरामी र उपचारको बेला आफ्नो मनस्थिति कस्तो थियो र आफू कस्तो हालतमा रहेकी थिइन् त्यसलाई निकै नजिकसँग बुझेको बताइन् । मनीषाले आफ्नो अनुभूति बाँड्ने क्रममा हामी यो संसारमा निकै कम समयको लागि आएको र यो समयमा सबैले आफ्नो र अरूको लागि राम्रो गर्नुपर्ने धारणा राखेकी थिइन् । साथै उनले मृत्यु एक सत्य हो भन्दै समय आउँछ, जानुपर्छ, तर क्यान्सर मृत्युको घोषणा होइन । हिम्मत राख्नुपर्छ, आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्नुपर्छ भन्दै श्रोतालाई ढाडस दिइन् ।

बिरामीको समयमा आफ्नो अनुभव बताउँदै मनीषाले भनिन्, ‘त्यसबेला मेरो अनुभव अरूको भन्दा भिन्दै छ । जसले मलाई सहयोग र साथ दिने विश्वास गरेकी थिएँ तिनीहरूले मलाई कुनै सहयोग गरेनन् । मेरो भाइ सिद्धार्थ जसलाई म निकै गैरजिम्मेवार मान्थेँ उसैले यो बिरामीको बेलामा मेरो स्याहारसुसार ग¥यो, मेरो हरेक कमजोरीमा प्रोत्साहन बनेर मलाई सकारात्मक प्रेरणा दियो ।’

‘त्यस्तै, न्युयोर्कको एक डाक्टरदम्पती जो प्रत्येक आइतबार मलाई भेट्न आउँथे, मैले एक दिन उनीहरूलाई सोधेँ– तपाईंहरू यति व्यस्त हुनुहुन्छ, तैपनि मलाई प्रत्येक आइतबार भेट्न आएर समय खर्चिनुहुन्छ यसको कारण के हो भन्दा उनीहरूले भने– हामी यहाँ अन्य कारणले नभई एउटा आशा लिएर आउँछौँ, भविष्यमा तपाईंले पनि यस्तै क्यान्सरपीडितका लागि यस्तै किसिमको केही सहयोग गर्नुहुनेछ भनेर । त्यसपछि मैले त्यसैबेला प्रण गरेकी थिएँ– ‘यदि मैले दोस्रो जीवन पाएँ भने क्यान्सरपीडितहरूको सहयोगबारे अवश्य केही प्रयास गर्नेछु । साथै क्यान्सर भनेको मृत्युको घोषणा होइन भनेर पनि सन्देश दिनेछु ।’