मार्सी पुराण !

मार्सी पुराण !


  • अर्जुनराज पन्त

महँगीले ढाड सेकेर उठ्नै नसक्ने बनाएको बेला एकाबिहानै कसैले ढोकाको घन्टी बजायो । पार्सलको पोको लिएर हुलाकी आएको रहेछ । खोलेर हेरेँ– राता–राता फलेका गहुँका दानाजस्तो मोटो–मोटो चामल छ, दङ्ग परेँ । नाम हेरेँ पुरानो चिनजानका एक मित्रले जुम्लादेखि पठाएका रहेछन् ।

जे भए पनि कोदोको पिठोले पालो पाउने भयो आज भन्दै दङ्ग हुँदै श्रीमतीलाई लौ चामल आज भात नै पकाउ भन्दै बोलाएँ, उनी बोलिनन्, फोन हेर्नमा व्यस्त उनी नबोलेपछि उनकै नजिक चामलको पोको राख्दै लौ आज भात खाएर मुख फेर्नुपर्छ, यसको भात पकाऊ, म एकछिन बजार गएर आउँछु भन्दै मनमनले पुरानो मित्रप्रति कृतज्ञता दिँदै बाहिर निस्किन दैलोमा के पुगेको थिएँ एक्कासि उनको आवाजले स्तब्ध बनायो ।

भन्दै थिइन्– कहाँबाट आयो यो खानै नहुने चामल ? यो त मार्सी चामल हो खान हुन्न पच्दैन, म खङ्ग्रङ्ग भएँ, के हो यो विष हो र खान नहुने ल सुँघ यी भर्खर ढिकीमा कुटेको चामल जस्तो छ यी भन्दै उनका नाकतिर एक पसर चामल के लाँदै थिएँ मेरो हात झड्कार्दै ल हेर यी भन्दै उनको मोबाइलमा ठूलो लफडाको महात्म्य नै देखाइन् ।

मन खिन्न भो, केही सोच्नै सकिनँ । मित्रलाई फोन गर्न मन लाग्यो, फोन गरँे, घन्टी गयो तर उठेन, फेरि फोन गरेँ, कतै व्यस्त रहेछन्, उठाए र भने, ‘पचाउन सके खाऊ, तर चरेसको थालमा खानू ।’ म झसङ्ग भएँ ! कस्तो खालको चामल हो त यो के खानै नहुने चामल त होइन होला । बेस्करी पकाएर थोरै खाए कसो नपच्ला र आजीवन कोदोको पिठोसँग भिडेको यो इन्जिन पनि बलियै छ आफू, त्यही पनि एकपटक डाक्टरलाई सोध्नुपऱ्यो के भन्दारछन् त भन्दै फोन गरेँ । कस्तो खालको अघोरी डाक्टर परेछ कुन्नि सित्तैमा पाएको हो भने जति हसुरे नि हुन्छ हसुर, पखाला लागे यहाँ आउनु तँलाई यसो मिलाएर उपचार गर्दिउँला भन्दै ठेगाना टिपायो ।

उसको कुरामा विश्वास नै लागेन । अर्को डाक्टरलाई फोन गर्नुपऱ्यो भन्दै फोन गरेको, कहाँको खेलो हराएको पीएचडीवाला डाक्टर पो परेछ, अर्काको कुरै नसुन्ने ! बोल्ने मान्छे’नि कहिल्यै नभेटे जसरी अनेकथरी दर्शन पो सुनायो । ‘भन्ने हाम्लाई लाइर’छ’ भन्ने वाक्यसिवाय केही बुझिनँ र फोन नै राख्दिएँ । मनमनै कस्ता–कस्ता मान्छे नि डाक्टर हुँदारछन्, यी बिरामी पनि नजाँच्ने मान्छेलाई किन डाक्टर भन्नुपरेको, अरू नै केही भने हुने नि ! फोकटमा फोनको मिनेट मात्रै सक्दियो भन्दै खिन्न भएँ ।

दुनियाँभरका च्याउ उम्रेसरि डाक्टर छन्, एक न एक त कसरी नभेटुँला र भन्दै फेरि अर्कोलाई फोन गरेँ । ‘हामी आन्दोलनमा छौँ मान्छे मर्न लागे त हामीलाई मतलब छैन फोनबाट यस्ता कुरा सोध्ने ?’ भन्दै झर्कियो । कता–कता अनपढ गाउँले हो, ठग्न पाइन्छ कि कतै भन्ने आस लागेछ कि कुन्नि तैपनि क्लिनिकमा आउने भए भन्छु भन्यो । अनि लागियो उसैका क्लिनिकतिर, क्लिनिकको नाममा कुखुराफर्मको शैलीमा पूरै अस्पताल नै चलाएको रहेछ ।

मैले मेरो जिज्ञासा राखेँ, ऊ दङ्ग पऱ्यो । एकछिन मेरो अनुहारमा घोरिएर हेऱ्यो अनि के सोचेछ कुन्नि, अनि भन्यो– ‘यो चामल खाँदै नखानुस्, पच्दैन ।’ कत्रा–कत्रा हजारौँहजार मान्छे पचाउने, हुँदै नभाका मान्छेको लगत खडा गरेर उनको भत्तासमेत पचाउने, हातहतियार, बैंकभरिका पैसा पचाउने, विदेशबाट मगाएर बोतलकै हजारौँ मूल्य पर्ने पानी पिउने, पातलो सिँगान आए विदेशी अस्पतालमा पुग्ने मानिसले त यो चामल पचाउन नसकेर बेहाल भा’छन्, हजुरजस्तो सामान्य मानिसले यो चामल खाँदै नखानुस् भन्यो ।

कसरी फाल्नु त यो पोकोभरिको चामल, परापूर्वकालदेखि पुर्खाले समेत खाँदै आएकै हुन् यस्तो त हुनु नपर्ने हो, कसलाई सोध्ने हो त अब भन्दै सोच्दै थिएँ, झल्याँस्स सम्झिएँ । म पनि कस्तो उल्लू ! चामलको भातै नखाने देशको गाई खाने विद्या पढेका यी डाक्टरलाई भन्दा त यस्ता कुरा वैद्यलाई पो थाहा हुन्छ त । अनि लागेँ उनकै घरतिर । घर पुगेँ बन्द र’छ, फोन गरेँ उठेन यो नम्बर उपलब्ध छैन भन्यो, वरिपरि हेरेँ छरछिमेकमा कुरो बुझ्दा वैद्यका झिटिझाम्टा धनमाल लिएर उनका सबै कारिन्दाहरू भागिसकेका रहेछन्, बूढाको फोनसमेत लगे अरे, खोजेर’नि भेटिन्नन् र भेटे पनि काम छैन भने ।

भारी मन लिएर आफ्नो कर्मलाई दोष दिँदै घर फर्किंदै थिएँ, ज्योतिषले तँलाई यो साल शनि सङ्कटाका दशा छन्, मुखमा हाल्न आँ गरेको गाँस पनि हावाले उडाएर लान्छ भनेको कुरा सम्झेँ, हो कि जस्तो लाग्यो, आखिर के हो त यो चामल यी त्रिकालदर्शी बाजेलाई थाहा नभएको कुरो नै पो के होला र भन्दै लागँे उनैका घरतिर । हेराउने मान्छेको भिड रहेछ पालो कुरेँ । बल्ल–बल्ल पालो आयो । बूढाले भने– तँलाई यो साल यसै त शनिको दशा छ अनाहकमा दोष लाग्न सक्छ, त्यहाँमाथि यो साल मलमासमा लागेको चन्द्रग्रहणको प्रभाव अनाजमा पर्ने योग थियो र यो प्रभाव पालैपालो हरेक अनाजमा पर्दै जाँदा यो साल मार्सी धानमा प¥यो, यसको चामल सेवन गरे अनाहकमा दोष लाग्छ सेवन नगर, एकादशीको दिन गंगामा विसर्जन गर्दिनू ।

भोको पेटले कसरी हाल्नु त यत्रो चामल गंगामा ? आखिर भोक ठूलो कि दोष ! खान्छु जे पर्ला–पर्ला भन्दै सकेजति आत्मबल बढाउँदै घर फर्किंदै थिएँ, तर दिमागको कुनाबाट त्यो डर र शङ्का हटिसकेको थिएन । जहाँबाट पनि चित्तबुझ्दो र आफूअनुकूलको जवाफ पाउन नसकेको म आफैँमा कता–कता हराएको हुँ कि जस्तो नि लाग्यो । नजिकैको धारोमा मुख धुँदै शिर भिजाएँ, अलिकति हल्का महसुस भो । जहाँ इच्छा त्यहाँ उपाय भन्दै बाटो लाग्दै थिएँ । मनमा गज्जबको उपाय पो आयो ! एकछिन आफैँमा दङ्ग परेँ । म पनि कस्तो मान्छे नजिकको तीर्थ हेला भन्थे हो र छ, घरनजिकै त्यत्रा झाँक्रीबा हुँदाहुँदै कहाँ–कहाँ भौँतारिएँ । हरेक अनुष्ठान टपरीमा चामल नराखी नगर्ने, चामलका गेडा छोएर रोग नै पत्ता लगाउने र चामलले नै हानेर रोग निको पार्ने असली चामल विशेषज्ञ त यी पो हुन् त ! यिनले यो चामल त हेरेर त के आँखा बन्द गरेर सुँघेर पत्ता लगाइदिन्छन् होला भन्दै लागेँ उनका घरतिर ।

यसो हेरेँ दिउँसै ढोकामा भित्रबाट चुकुल लाएको छ । फेरि एक्लै बस्ने बूढाको दैलोबाहिर दुई जोर बेग्लाबेग्लै नापका चप्पल छन् ! झाँक्रीबा झाँक्रीबा भनेँ सुन्दैनन् । ढोका ढकढक गरेँ खोलेनन् । भित्र कताकता गुनगुन गरेकोजस्तो आवाज आउँछ फेरि । जान्छु अब पछाडिको झ्यालबाट चियाएर हेर्छु भन्दै यसो करेसातिर लाग्दै थिएँ कहाँबाट ‘कबड्डी कबड्डी’ सिनेमामा गरेको निःसन्तान दम्पतीको उपचार र झाँक्रीबाको कर्तुत सम्झेँ । हिम्मत नै आएन ।

यो चामल खान मेरो कर्ममा नै लेखेको रहेनछ, देउताले दिएको पितृले हरेको भन्ने उखान सम्झिँदै एकतमासले घर फर्किंदै थिएँ, बाटोमा चिप्लिएर नराम्री लोटी टाउकोमा चोट लागेर बेहोस भएछु, देखाउन ल्याएको सबै चामल पोखिएछ । त्यही बाटो भएर ‘मार्सी ! चामल मार्सी चामल !’ भन्दै प्रधानमन्त्रीको राजीनामा माग्नेको हुलले मार्सी चामल हातमा लिएर लडेको देखी मलाई पानी छम्केर होसमा ल्याएका रहेछन् । होसमा आउँदासाथ ‘तँसँग अरू यस्तो चामल छ भने ले, यो चामल त आन्दोलन गर्न पो चाहिन्छ’ भने । पूजा गर्दा मात्र चामल चाहिन्छ भन्ने सुनेको म आन्दोलन गर्दा पनि चामल चाहिन्छ भनेको सुन्दा दङ्ग भएँ । लामो हाई काडेँ । कता–कता कानबाट हावा छिरेजस्तो अनुभव भो । अलिकति हलुङ्गो महसुस गरेँ । आफूलाई बल्ल होस पसेजस्तो अनुभव भो, । धत् ! म पनि कस्तो उल्लु बिचरा मार्सी चामलको त के दोष ? पच्न नसकेको त मार्सी प्रवृत्ति पो हो त !