अहं ब्रह्मास्मि !

अहं ब्रह्मास्मि !


  • बबिता बस्नेत

मेरो पहिचान के हो ? भनेर हामीले आफ्नो पहिचान खोज्न थाल्यौँ भने वरिपरि अनेक पहिचान छरपष्ट भएर आउँछन् । जातजाति, कुल–खान्दान, धर्म–संस्कृति, पेसा, व्यवसाय, देश, पृथ्वी, ब्रह्माण्ड धेरै कुरा । आफ्नो पहिचानलाई जातजाति, कुल–खान्दानमा सीमित गर्ने कि पृथ्वी, ब्रह्माण्डसम्म पुग्ने भन्ने कुरा मानिसको सोचमा भर पर्छ । मानिसले आफ्नो सोचलाई कतिसम्म फैलाउने र कति खुम्च्याउने भन्ने कुरा आफैँमा नीहित छ । कहिलेकाहीँ आफू हुर्किएको वातावरणले पनि सोचको परिधिलाई आकार दिन मद्दत गर्छ । शरीरका आफ्ना सीमितताहरू भए पनि सोचको कुनै सीमा छैन ।

मानिसलाई राम्रो र नराम्रो सोच्नबाट कसैले पनि रोक्न सक्दैन । प्रकृतिले मानिसलाई सोच्न सक्ने असीमित क्षमता दिएसँगै अर्को राम्रो कुराको व्यवस्था पनि गरेको छ, त्यो हो कसले के सोच्छ भन्नेबारेमा एक–अर्कामा जानकारी हुँदैन । यदि कसको मनमा के कुरा खेलिरहेको छ, कसले केसम्म सोच्न सक्छ भन्ने कुरा शरीरको आकारप्रकारझैँ दृश्यमा आउने भए के हुन्थ्यो होला ? उपनिषद् भन्छ– मानिस आफैँमा ब्रह्माण्ड हो । उपनिषद्को चार महावाक्यमध्ये एक हो– अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्माण्ड हुँ । कतिले यसलाई म नै ब्रह्मा हुँ भनेर पनि अथ्र्याएका छन् । सनातन हिन्दूधर्मग्रन्थहरू यति शक्तिशाली छन् कि जम्मा एउटा वाक्यलाई लिएर मानिसले विद्यावारिधि गरेका छन् । अहं ब्रह्मास्मिबारे शोध गर्नेहरूको सङ्ख्या ठूलो छ । म नै ब्रह्माण्ड हुँ अर्थात् ब्रह्माण्डमा जे छ त्यो ममा छ, ममा जे छ त्यो ब्रह्माण्डमा छ । ब्रह्माण्ड जेले बनेको छ, मानिसभित्र पनि त्यही छ ।

मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ, जल, वायु, पृथ्वी, अग्नि र आकाश । यसको अर्थ सारा ब्रह्माण्ड हाम्रो शरीरभित्रै छ । हाम्रो शरीरमा पानी ७२ प्रतिशत, पृथ्वी १२ प्रतिशत, वायु ६ प्रतिशत, अग्नि ४ प्रतिशत र बाँकी आकाश अर्थात् मस्तिष्कले भरिएको हुन्छ भनिन्छ । यी पाँच तत्वको सन्तुलन नै मानिसको जीवन हो । शरीर, मस्तिष्क, मन, भावना फरक कुरा हुन्, मस्तिष्कले यी सबै कुरालाई निर्देश गरिरहेको हुन्छ । कहिलेकाहीँ बिहान जुरुक्क उठ्दादेखि नै मन त्यसैत्यसै खिन्न भइरहेको हुन्छ । जिन्दगीमा ठूलै दुर्घटना भएजस्तो, त्यसै नरमाइलो… कस्तोकस्तो… जिन्दगीनै विघटन भए हुन्थ्यो जस्तो… तर जति सम्झिए पनि भएकोचाहिँ केही पनि हुँदैन । कहिलेकाहीँचाहिँ उठ्दै खुसी लाग्ने, रमाइलो त्यसैत्यसै जिन्दगीमा केके नै उपलब्धि भएजस्तो भइरहेको हुन्छ । ब्रह्माण्डमा पनि त्यस्तै हुन्छ, कहिले बिहान झलमल्ल घाम लागिरहेको हुन्छ, कहिले मनै नरमाइलो हुने गरी धुम्म धुम्मिन्छ । कहिले पानी पर्छ, कहिले हावा चल्छ, अग्नि बाहिरिँदा ज्वालामुखी विस्फोट हुन्छ ।

प्रकृतिले मानिसलाई सोच्न सक्ने असीमित क्षमता दिएसँगै अर्को राम्रो कुराको व्यवस्था पनि गरेको छ, त्यो हो कसले के सोच्छ भन्नेबारेमा एक–अर्कामा जानकारी हुँदैन ।

मानिस हुनुको अर्थ कति विशाल छ भनेर बुझ्नै नपाई कतिले यो धर्ती छोडेर जान्छन् । कतिलेचाहिँ आफूभित्र हेर्दै नहेरी बाहिरी रूपमा बोक्रे कुरा गरेरै जिन्दगी गुजारिरहेका हुन्छन् । राम्रा, अरूलाई भलो हुने काममा समय खर्च गर्ने कि अरूलाई दुःख दिने काममा लागेर समय बिताउने, आफूभित्रै निहित छ । अरूलाई नराम्रो सोच्नका लागि मानिसले आफूभित्र नकारात्मक सोच ल्याउनुपर्ने हुन्छ । आफू विषाक्त भएपछि मात्र मानिसले अरूलाई विषाक्त बनाउन सक्छ । अरूलाई राम्रो सोच्नका लागि पहिला आफूभित्र राम्रा कुराहरू ल्याउन जरुरी हुन्छ । आफूलाई कस्तो बनाउने आफैँमा भर पर्छ । मानिस हो, दुःखसुखहरू हुन्छन् । कहिलेकाहीँ आफूवरिपरिको वातावरणले पनि मानिसका सोचहरूमाथि प्रभाव जमाइरहेको हुन्छ । आफूले आफैँलाई नियन्त्रण गर्न सक्ने अवस्थामा पुग्न सक्यो भने जीवन बाँच्न सहज हुने निश्चित छ ।

मानिसले संसार सधैँका लागि मेरै हो भन्ने ठाने पनि जीवनमा कुनै कुरा निश्चित छ भने त्यो मृत्यु मात्रै हो । अघिपछि यो आउँछ नै । कुनै पनि बेला म मर्छु भन्ने कुरालाई आत्मसात् गर्ने हो भने मानिस राम्रा काम गर्न उत्प्रेरित हुन्छ । भोलि मर्ने मान्छेले आज कसैलाई किन नराम्रो गर्छ र ? यसरी सोच्ने हो भने केही गर्ने अवसर सर्वसाधारण नागरिकलाई भन्दा मुलुकको नीतिगत तहमा बसेकाहरूलाई बढी हुन्छ । व्यक्तिगत रूपमा मानिसले आफ्नो जिन्दगी मात्रै सहज या असहज बनाउन सक्छ, तर नेतृत्व तहमा पुगेकाहरूले त सम्पूर्ण देश सञ्चालन प्रक्रियालाई नै सहज–असहज बनाइदिन सक्छन् । राम्रो मात्रै गर्ने वातावरण बनाउन सक्ने हो भने मुलुकमा पैसा या जनशक्तिको कमी कहाँ छ र ?

कति मानिस रक्सीका कारण कलेजो ड्यामेज भएर मरे, कति मानिस फोक्सोले धान्न नसकेर बिते, कति कुलतमा छन् । मानिसलाई खान नहुने कुरा खान प्रेरित गर्ने त्यो शत्रु बाहिर नभएर आफैँभित्र छ ।

पृथ्वीमा जति पनि जीवित प्राणी छन्, तिनमा मानिस उत्कृष्ट हुनुको कारण उससँग विवेक भएर हो । विवेक कहाँ–कसरी प्रयोग हुन्छ या हुँदैन त्यो अलग कुरा हो, तर मानिसले विवेक पुऱ्याउने हो भने यो संसार सुन्दर मात्र होइन, शान्तिपूर्ण पनि हुनेछ । विवेक प्रयोगका लागि मृत्युलाई आत्मसात् गर्न आवश्यक छ भनिन्छ । अचम्म त के छ भने जुन कुरा निश्चित छ, त्यो विषयमा हामी कहिल्यै कुरा गर्दैनौँ । जुन कुराको कुनै भरोसा छैन, हामी चर्चा गरेर थाक्दैनौँ । विश्वमा मानिसले बढी चर्चा गर्ने विषयमध्ये मौसम एक हो, जसको कुनै भरोसा हुँदैन । जाडो हुँदा कति जाडो भन्यो, गर्मी हुँदा कति गर्मी भन्यो । मानिस एक–अर्कामा भेटघाट हुँदा चर्चा गर्ने मात्र नभएर मिडियामा समेत रुचिको विषयमा मौसम अग्रपङ्क्तिमा पर्छ । जे कुरा गर्नुपर्ने हो त्यो नगर्ने हामीकहाँ हरेक क्षेत्रमा लागू हुन्छ । हामी कसरी स्वास्थ्य राम्रो बनाउने, प्रदूषण कसरी घटाउने, स्वस्थ जीवनका लागि के खाने, के नखाने भन्ने कुराको भन्दा बढी कसरी सुविधासम्पन्न अस्पताल बनाउनेमा केन्द्रित छौँ । कसलाई मेडिकल कलेज खोल्न दिने, कसलाई नदिनेभन्दा बढी छलफल त जनस्वास्थ्यमा असर नपार्नका लागि के–कस्ता उपायहरू अपनाउने भन्नेतिर हुनुपर्ने होइन र ?

जीवनशैली र सोचको स्वास्थ्यमा महत्वपूर्ण भूमिका हुन्छ । हामीभित्र के छ ? मानिसको शत्रु र मित्र कसरी आफैँ हो भन्नेबारेमा शायद अब चर्चा हुनुपर्छ । कति मानिस रक्सीका कारण कलेजो ड्यामेज भएर मरे, कति मानिस फोक्सोले धान्न नसकेर बिते, कति कुलतमा छन् । मानिसलाई खान नहुने कुरा खान प्रेरित गर्ने त्यो शत्रु बाहिर नभएर आफैँभित्र छ । अहिले द्वन्द्वका मुद्दामा अन्तर्राष्ट्रिय चासो बढेपछि हाम्रो शान्तिप्रक्रिया युनिक भन्दै नेताहरू कसरी यसलाई छल्न सकिन्छ भनेर लागेका छन् । डिस्टर्ब माइन्डले शान्तिको कुरा गरेर मात्र मुलुकमा शान्ति छाउँदैन । समृद्धिको अर्थ बाहिरी सुखवाला समृद्धि मात्र नभएर आफैँभित्रको सोच समृद्ध बनाउने कुरा पनि हो । पश्चिमाहरूले अहं ब्रह्मास्मिबारे अध्ययन–अध्यापन गर्न शुरु गरेर युवाहरूलाई शान्ति र समृद्धितिर अघि बढाइरहेका छन् । हामीकहाँ भित्रैबाट आत्मसात् गराउने गरी यस्ता कुरा गर्ने सोच र रुचि दुवै देखिँदैन ।