राष्ट्रिय स्वाभिमानको रक्षा आजको आवश्यकता

राष्ट्रिय स्वाभिमानको रक्षा आजको आवश्यकता


  • विजय खड्का

मुलुक परिवर्तनको सङ्घारमा छ । १२ वर्षसम्म जुनसुकै व्यवस्थालाई पनि धैर्य गरेर कुर्ने र त्यसबाट सन्तुष्ट नभए परिवर्तनको लागि सडकमा निस्कने नेपाली समाज हालको बेथिति, भ्रष्टाचार, अपारदर्शिता, चरम वैदेशिक हस्तक्षेप, गैरजिम्मेवार अभिव्यक्तिदेखि वाक्कदिक्क भइसकेका छन् । जनताले एउटा दलको अधिनायकत्व मन पराएका छैनन् । अहिले बजारमा सिद्धान्तको लागि भन्दा पनि कमाउनको लागि कम्युनिस्ट हुनेको लर्काे भेटिन्छ, न्यूनतम राजनीतिक मूल्य र मान्यतामा ठूलो ह्रास आएको छ, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता अहिले मुलुकले थेग्न नसक्ने अर्थात् ‘भालुको कन्पट’ भएको छ, काङ्ग्रेस–कम्युनिस्टलाई नै ‘खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहार’ साबित भएको छ यो व्यवस्था ।

एकातिर चरम धार्मिक हस्तक्षेप बढिराखेको छ, राज्य स्वयम् सनातन मूल्य–मान्यतासहितको हिन्दू समाजलाई क्षत–विक्षत गर्न तल्लीन छ । सामूहिक रूपमा पैसा, प्रलोभनको भरमा सनातनी हिन्दूहरूलाई क्रिश्चियनमा परिणत गर्न राज्यका सबै अङ्गहरू परिचालित भएका छन् । अमेरिकाजस्तो मुलुकमा सांसद भएका नेपाली मूलका ह्यारीले भागवत गीतामा हात राखेर शपथ खाइरहेको अवस्थामा, विश्वका कैयन राष्ट्रप्रमुखले आ–आफ्नो धार्मिक आस्थाअनुसार शपथ खाएको अवस्थामा नेपालका प्रधानमन्त्री ईश्वरको नाममा शपथ खान मान्दैनन् । यसबाट ८१.५ हिन्दू तथा १३.५ ओमकार परिवारले अपमानित भएको महसुस गरेका छन् ।

मतदाता आफूले जिताएको जनप्रतिनिधिमा आफ्नो भावनाको छाया देख्दछ, तर नेपालमा ९४.५ ओमकार परिवार सशङ्कित हुने र करिब ३.५ प्रतिशतको हाराहारीमा रहेका क्रिश्चियनहरूले सरकारमा आफ्नो छायाको अनुभूति गरेका छन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री र राज्यको सबै अङ्ग परिचालित भएर एउटा क्रिश्चियन मिसिनरीको प्रभावमा राज्य पर्नुलाई लिन सकिन्छ । यो सँगसँगै मुलुकमा मौलाएको भ्रष्टाचार, कुशासन, ३३ केजी सुन प्रकरण, निर्मलाको बलात्कारपछिको हत्या प्रकरण, पानीजहाज, रेल, मेलम्ची आयोजनामा सरकारको असफलता तथा नेपालको इतिहासमा नै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड वाइडबडी प्रकरणमा सरकारको संलग्नताले जनता आक्रोशित छन्, यो व्यवस्थाको विकल्पमा सडक आन्दोलनको मुडमा छन् ।

के काङ्ग्रेसले आन्दोलनको नेतृत्व लिन सक्छ ?

जनता वाम गठबन्धन र यसले अपनाएको सम्पूर्ण मूल्य र मान्यता ध्वस्त पार्दै नयाँ शिराबाट राष्ट्रवादी शक्तिलाई उठाउने मुडमा छन्, तर अझै नेपालमा सम्पूर्ण कम्युनिस्ट सत्तालाई ध्वस्त पार्दै नयाँ शक्ति स्थापना गर्न नेतृत्व निर्माण भने भइसकेको अवस्था छैन । यो आन्दोलनको नेतृत्व गर्ने प्रथम दायित्व प्रतिपक्षी काङ्ग्रेसको हो, तर अहिले काङ्ग्रेस किंकर्तव्यविमुढ छ, ढुलमुल छ, माओवादीको भरिया बनेर गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको फड्के किनारमा साक्षी बनेर सही गरेको काङ्ग्रेसभित्र अहिले झिनो रूपमा हिन्दूराष्ट्रको पक्षमा आवाज उठ्न त थालेको छ, तर त्यो देखाउने दाँत मात्र हो भन्ने महासमितिका आधाभन्दा बढी सदस्यले गरेको हस्ताक्षरलाई छलफल पनि नगराई रद्दीको टोकरीमा हालेकोले काङ्ग्रेस नेतृत्व यो मुद्दाप्रति इमानदार छैन भन्ने प्रस्ट हुन्छ, जनता धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रविरुद्धमा छन् । यो मुद्दा काङ्ग्रेसले बोक्न नसकेपछि उसको आन्दोलन गर्ने नैतिक साहस रहँदैन, मधेसवादी जनता हिन्दूराज्यको पक्षमा रहे पनि मधेसी दल र नेतृत्व आपसी खिचातानी र चरम दक्षिणी प्रभावमा रहेकाले यिनीहरूबाट पनि जनताले आस मारेका छन् ।

अबको वैकल्पिक शक्ति राप्रपा हो त ?

अहिले संसारभर राष्ट्रवादी शक्तिको उदय भइरहेको छ, भारत, चीन, अमेरिकाजस्ता विश्वको शक्तिराष्ट्रलगायत सबै विकासशील र विकासन्मुख राष्ट्रहरूमा कुनै न कुनै रूपको राष्ट्रवादी हावा बगेको छ, विश्व मानचित्रबाट प्रायः लोपोन्मुख कम्युनिस्ट शक्ति नेपालमा हाबी भएको अवस्था तेस्रो विश्वको लागि अचम्मकै विषय हो । नेपालमा पनि अहिले राष्ट्रवादी शक्ति जुर्मुराउने अवस्थामा छन् । अनुकूल समयको पर्खाइमा छन्, राजाको भ्रमणहरूमा हजारौँले राजाको पक्षमा जयजयकार गर्नु, राप्रपाले आयोजना गरेको हिमाली, पहाडी र तराईको जिल्लाको कार्यक्रममा जनआकर्षण बढ्नु, राप्रपाका सबै हिस्सा र सम्पूर्ण राष्ट्रवादी शक्तिको एकीकरणको अभ्यास तथा कमल थापा नेतृत्वको राप्रपाले शुरु गर्न लागेको धार्मिक यात्रा, राष्ट्रिय स्वाभिमान मेची–काली यात्रालाई सङ्केतको रूपमा लिन सकिन्छ । युवा र आधुनिक पुस्ताको बाहुल्य रहेको विवेकशील साझा पार्टीमा आएको फुट र राप्रपाको एकीकरण तथा राष्ट्रवादी शक्तिको पुनर्गठनको अभ्यासले नेपाली जनता, बौद्धिक वर्ग, राष्ट्रवादी शक्ति, स्वतन्त्र समूहहरू, निजामती, जङ्गी, विद्यार्थी, शिक्षकलगायतका नेपाली समाजका सम्पूर्ण तह र तप्कालगायत विश्वभर छरिएर रहेका नेपाली समुदाय पनि राष्ट्रवादी शक्तिको उदयको प्रतीक्षामा छन् ।

अब ढिलो–चाँडो, चाहेर–नचाहेर नेपाली जनताले आन्दोलनको मियो राप्रपालाई बनाउने निश्चित छ, राप्रपा नेतृत्वले अब मेरो वा तेरो, यो वा त्यो भन्नु वा पद र राजनीतिलाई आफूअनुकूल बनाउने मात्र प्रयत्न गर्ने अभ्यासभन्दा एउटा नेपाली नागरिक भएर छातीमा हात राखेर राष्ट्रिय चिन्तन बोकेर नयाँ राजनीतिक अभ्यासको लागि तयार भएमा नेपाली जनता मुलुकको साँचो राप्रपालाई बुझाउने मुडमा छन् । राप्रपाको लागि यो अवसर र चुनौती दुवै हो, जनतालाई विश्वासमा लिएर व्यक्तिगत हठ, कुण्ठा त्यागेर सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट, मजबुत र गोलबन्द बनाउँदै अगाडि बढेमा कम्युनिस्ट शक्ति तासको घरझैँ ढल्ने निश्चित छ । नयाँ शक्तिको आगमनको स्वागतमा बसेका नेपाली जनतालाई निराश नबनाऔँ, उठौँ, जुटौँ, जागौँ, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, यो आजको समयले दिएको कार्यभार हो ।

(लेखक राप्रपाका केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख हुन् ।)