सिड्नीका सुन्दरीको प्रश्न- भल्गर हाम्रो पहिरन कि पुरूषको सोच ?

सिड्नीका सुन्दरीको प्रश्न- भल्गर हाम्रो पहिरन कि पुरूषको सोच ?


  • राजन घिमिरे, सिड्नी

‘ग्ल्यामर’ कि ‘भल्गर’ ? यसमा आ–आफ्नै तर्क, ब्याख्या वा परिभाषा हुन सक्छन् । तर, अष्ट्रेलियामा जन्मिएर यतैको संस्कारमा आफूलाई अभ्यस्त गराउने सुन्दरीहरूको दृष्टि तथा ब्याख्यामा भने ‘भल्गर’ शब्द आफैंमा अपाच्य र असैह्य हुन सक्छ ।

जब अष्ट्रेलियामा समर (गर्मी) शुरू हुन्छ तब विशेष गरेर युवतीहरूको पहिरन र प्रस्तुति देख्नेलाई अपाच्य वा भल्गर लाग्न सक्छ, तर उनीहरूको विचारमा भने त्यो ‘भल्गर’ नभई ‘ग्ल्यामर’ मात्र हो । ‘अर्काको पहिरन र शरिर हेरेर काम-कल्पना गर्ने पुरूषको सोच भल्गर हो, मौसमअनुसारको फेशन गर्ने हाम्रो उपस्थिति त ग्ल्यामर मात्र हो’, अष्ट्रेलियामा जन्मिएका युवतीहरूको तर्क छ । ‘आँखाबाट आनन्द लिने र आशक्तिको थुक निल्नेहरूको जमातले हाम्रो पहिरनलाई भल्गर भन्छन् भने किन लुकी–लुकी हेर्छन् त ?’ सिड्नीमा भेटिएकी कार्लोको तर्क थियो ।

जब गर्मी अत्याधिक बढ्छ तब, यहाँ समुन्द्रमा पौडीको आनन्द लिन युवकहरूको ताँती नै लाग्छ । त्यसरी ताँती लाग्ने युवकहरूको उद्देश्य चाहिँ फरक–फरक भएको अनुभूति युवतीहरूले गर्ने गरेका छन् । ‘स्वीमिङ गर्दा पाइन्ट लगाइँदैन, स्वीमिङ कस्टम नै लगाउनु पर्छ । स्वीमिङ गर्दा हामीले लगाएको पहिरन हेरेर आनन्द लिने पुरूषको सोच भल्गर कि मौसम र परिस्थितिअनुरूप वश्त्र लगाएर प्रस्तुत हुने हामी भल्गर ?’ युवतीहरू प्रतिप्रश्न गर्छन् ।

सिड्नीमा नग्न समुन्द्र पनि छ । यो नग्न समुन्द्रमा स्वीमिङ कस्टम लगाएर जान पाइँदैन, पूरै नग्न भएर जानुपर्छ, यो समुन्द्रको विशेषता नै हो यो । तर, यो समुन्द्रमा जाने पुरूषहरूको सोच र उद्देश्य भने फरक–फरक नै हुने गरेका छन् । युवतीहरू रमाइलो गरिरहेका हुन्छन् तर पुरूषहरूको जमात भने त्यहाँ आएका युवतीहरूको शरिर नियालेर विभिन्न अड्कल काटिरहेका भेटिन्छन् ।

यसर्थ पनि सिड्नीमा गर्मी शुरू भएपछि युवतीहरू निकै खुलेर समुन्द्रतिर रमाइरहेको देखिन्छन्, तर तिनै युवतीहरूको त्यस्ता दृश्य लुकी–लुकी हेर्ने र कामुक–कल्पनामा हराउने पुरूषहरूको दिमाग र दृष्टिकोणलाई सिड्नीका सुन्दरीहरूले ‘भल्ग्यारिटी’को रूपमा ब्याख्या गर्ने गर्छन् ।