सिउँडीको बोटमा आँप फलाउन खोज्नेहरू

सिउँडीको बोटमा आँप फलाउन खोज्नेहरू


  • स्वयम्भूनाथ कार्की

एउटा रोचक किस्सा सुनेको थिएँ, रोचक नै छ त्यसैले दोहो¥याउँछु । एकपटक एक चोरले बाटोमा खेलतमासा देखाउँदै गरेको देखेछ । त्यो तमासामा एक नट बाँस ठड्याएर त्यसको टुप्पासम्म फुर्तीले चढ्दै उत्रँदै गर्दै थियो । उसको त्यो कुशलता देखेर त्यो चोर लोभियो । उसले त्यो नटलाई आफ्नो काम सघाइदिएबापत प्रसस्त धन दिने लोभ देखायो । भनिन्छ नि धन देख्दा महादेवका तीननेत्र, त्यो नट पनि लोभियो । ऊ त्यो चोरसँग काम गर्न तयार भयो ।

चोरको काम नै रात छिप्पिएपछि हुन्छ । त्यसैले रात छिप्पिएपछि त्यो नट र चोर दुवै बाँस बोकेर नगर सेठको घरबाहिर पुगे । चोरले बाँस खडा गरिदियो, त्यो बाँसको टुप्पो नगर सेठको घरको छानोसम्म पुग्यो । अब चोरले नटलाई त्यो बाँसमा चढेर नगर सेठको घरमा पस्न र त्यहाँबाट धनसम्पत्ति तल झार्न अह्रायो । तर, त्यो नट बाँसको छेउमा उभिइरह्यो, चढ्ने प्रयत्न गरेन । धेरैचोटि भन्दा पनि केही नलागेपछि चोरले अलि हप्काएर भन्यो । अनि नटले जवाफ दियो ‘पहिले ढोल बजाउनुस् न त, ढोलको तालमा पो म बाँस चढ्न सक्छु ।’

कुनै व्यक्तिको कार्यकुशलता सबै क्षेत्रमा हुन सम्भव छैन । फेरि त्यही कार्यकुशलता पनि मात्र व्यक्तिमा भर पर्दैन उसलाई काम गर्न परिवेश चाहिन्छ । पछिल्ला दिनमा बीपी विचार मञ्चले विराटनगरमा कार्यक्रम गऱ्यो । यसमा कुलबहादुर गुरुङ, देवेन्द्रलाल नेपाली अनि देवप्रकाश त्रिपाठी काठमाडौंबाट सहभागी प्रमुख वक्ता थिए । कुलबहादुर गुरुङ जसको अध्ययक्षतामा बिनाबहस संविधानसभाले गणतन्त्र कार्यान्वयन गऱ्यो । संविधानसभाको गठनले स्वतः समाप्त हुने व्यवस्थापिका–संसद्को आदेशानुसार त्यो कार्यान्वयन गर्नु नै पर्ने थियो । तर, उनले कम से काम गणतन्त्रका विपक्षमा भएका साभसद्हरूलाई धारणा राख्न दिन त सक्थे तर गरेनन् ।

सत्तालोलुप भिड भने अझै सिउँडीको बोटमा आँप फलाउने प्रयत्न गर्दै छ । यो प्रवृत्ति नेकामा मात्र होइन सबै दलमा छ । तर, सबै दलमा आफ्नो त्यो प्रयत्न व्यर्थ भएको अनुभूति हुनेहरू पनि छन् ।

यसै गरेर देवेन्द्रलाल नेपाली नेपाली काङ्ग्रेसको निमित्त समर्पित व्यक्ति हुन् । शेरबहादुर देउवाभन्दा वरिष्ठ हुन् । पञ्चायतविरुद्धको नेपाली काङ्ग्रेसको सङ्घर्षमा उनको असर थाहा हुने काङ्ग्रेसी शायद अब छैनन् । तैपनि उनलाई डुब्न लागेको नेपाली काङ्ग्रेसको हालतले पोलेको छ । अपेक्षाकृत युवा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी नेपाली काङ्ग्रेसका त्यो स्थान लिने व्यक्ति हुन् जहाँ उनलाई बारम्बार नेकाको तर्फबाट चुनाव लड्ने प्रस्तव आउँछ । तर, उनी पदलाई भन्दा आस्था र आदर्शलाई उच्च मान्छन् । यी तीनैजना नेकाभित्रका यस्ता व्यक्तित्व हुन् जो नेकाले हाल बाटो बिराएको मान्यता राख्छन् । आफ्नो अन्तकालमा नेपाली काङ्ग्रेसले अहिलेसम्म पनि गर्व गरेका नेताहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले काङ्ग्रेस छोड्नुपऱ्यो ।

कुलबहादुर गुरुङको पूरा व्याख्यान सुन्न परिस्थितिले दिएन । एलिट क्लबको छोड्न नमिल्ने कार्यक्रमको कारणले बीचैमा कार्यक्रम छोड्नुपऱ्यो । तर, जति पनि सुनियो त्यसमा त्यस बेलासम्मका सबै वक्ताले उपलब्धि भनिएको सङ्घीयता, धर्मनिरपेक्षता अनि गणतन्त्रको बाटो लिनुलाई नेपाली काङ्ग्रेसले बाटो बिराएको नै भने । नेपाली काङ्ग्रेस कम्युनिस्टको विचारधाराको जालमा नराम्ररी फसेको र अस्तित्वको सङ्कट औँल्याए । यो दुई दलबीचको आपसी कुरामा उनीहरूबीचमै राख्दा पनि पेस गरिएका तर्कहरू गहकिला नै थिए ।

गणतन्त्र कार्यान्वयन गर्ने ऐतिहासिक (?) मौका पाएका कुलबहादुर गुरुङ किन आफूले पूरा गरेको त्यो जिम्मेवारीले नेपालको अस्तित्व खतरामा परेको देख्छन् । दलबाहेक प्रजातन्त्र नै हुन्न भन्ने मान्यतालाई आत्मसात् गरेका देवेन्द्रलाल नेपाली तथा देवप्रकाश त्रिपाठी किन आफ्नो दलको नेतृत्वलाई हठी र दम्भी देख्छन् अनि त्यसले पार्टीलाई समाप्त पार्न सक्ने देख्छन् ? के उनीहरूले विगतमा सिउँडीको बोटमा आँप फलाउने प्रयत्नमा साथ दिएका थिए त ? दुर्भाग्य यस किसिमका प्रतिक्रिया त्यो कार्यक्रममा भाग लिनेहरूबाट चर्चा भएन । सम्भवतः अब नेपाली काङ्ग्रेस पृष्ठभूमिका सङ्घसंस्थाले उनीहरूलाई विराटनगरमा आमन्त्रण गर्ने छैन ।

उनीहरूलाई काँडाले राम्रो देखिने सिउँडीबाट आँप फलाउन गरेको व्यर्थ प्रयत्नको आभास भइसक्यो । तर, सत्तालोलुप भिड भने अझै सिउँडीको बोटमा आँप फलाउने प्रयत्न गर्दै छ । यो प्रवृत्ति नेकामा मात्र होइन सबै दलमा छ । सबै दलमा आफ्नो त्यो प्रयत्न व्यर्थ भएको अनुभूति हुनेहरू पनि छन् । तर, अब आफ्नो मिहिनेतको फल जसरी भए पनि प्राप्त गर्ने होडबाजीमा लाग्न ठीक सम्झनेहरू छन् । तिनीहरू आफ्नो नेतृत्वलाई माथिको किस्सामा नटले जस्तै गरेर मुलुकमा चामत्कारिक परिवर्तन गरोस् भन्ने चाहन्छन् । तर, ढोल नबजी ती नेताहरूको क्षमता देखिन्न र त्यो ढोल हो कसैको विरोध गर्न पाउनु । जीवनभर उनीहरूको अनुभव र विज्ञता नै विरोध हो त्यसैले उनीहरूबाट अरू आशा गर्नु भनेको नै सिउँडीको बोटबाट फल्ने आँप खान खोज्नु हो ।