सुदर्शनको ‘लोकतान्त्रिक सामन्तवाद’ लोकार्पित

सुदर्शनको ‘लोकतान्त्रिक सामन्तवाद’ लोकार्पित


प्रा.डा. सुरेन्द्र केसीले लोकतन्त्रको आवरणमा राज्यसत्तामा पक्षपाती र सामान्तवादी चरित्र मौलाउँदै गएको टिप्पणी गरेका छन् । युवा विचारक सुदर्शन अर्याल ‘शितल’द्वारा लिखित वैचारिक पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा. केसीले यस्तो टिप्पणी गरेका हुन् ।

वर्तमान शासनसत्ता देख्नमा लोकतन्त्रजस्तो देखिए पनि शासनशैली र व्यवहारमा सामन्तवादी चरित्र देखिएको उनले बताए । प्राडा केसीले भने, ‘त्यसकारण यसलाई लोकतान्त्रिक सामन्तवाद भन्न सकिन्छ । यसो भन्ने आँट लेखक अर्यालले गरेका छन् । यो लेखकको साहस हो ।’

उनले शहीदहरूको सपना र बलिदानअनुरुपको सत्ता सञ्चालन नभएको आरोप छ लगाए । ‘शहीदहरूले किन रगत बगाएका थिए ? किन आफ्नो जीवन बलिदान दिएका थिए ? आज शहीदहरूको सपना अनुसारको शासन व्यवस्था सञ्चालन भइरहेको छ त ? लोकतन्त्रमा योग्यता, जवाफदेहिता र पारदर्शिता हुनुपर्छ तर खै त देशमा यसको स्थान कहाँ छ ? एकपटक श्रीमती अर्कोपटक श्रीमान् मन्त्री, श्रीमती नभए श्रीमान् सांसद, श्रीमान् नभए श्रीमती सांसद, असली बाहुनकी श्रीमतीले जनजाति कोटाबाट सांसद पद हात पार्छन्, यस्तो पनि हुन्छ ? लोकतन्त्रको आवरणमा सामन्तवाद लादिएको छ, लोकतन्त्रको आवरणमा सामन्तवादी चरित्र र आचरण मौलाएको छ ।’

कार्यक्रममा युवा राजनीतिक विश्लेषक अनिल योगीले सयौँ सहिदहरूको बलिदान र लाखौँ जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्रमा जनताको हितमा काम नभएको बताए । उनले भने, ‘यसै कारण लेखक सुदर्शन अर्यालले ‘लोकतान्त्रिक सामन्तवाद’ पुस्तक लेख्नु परेको हो । उनले अर्याललको पुस्तक समय सान्दर्भिक भएको जिकिर गरे ।
लेखक अर्यालले लोकतन्त्र समस्त शोषित, पीडित र गरिक जनताको हित गर्ने विज्ञान रकला हुनु पर्नेमा त्यस्तो नभएको भन्दै लोकतन्त्रको नाममा नातावाद, कृपावाद र पार्टीस्वार्थ मौलाउँदै गएको हुँदा लोकतान्त्रिक सामन्तवाद देखिएको धारणा व्यक्त गरे । उनले सुन्दा अप्रिय लागेता पनि मुलुकमा अहिले लोकतन्त्रको नाममा लोकतान्त्रिक सामन्तवाद हावी हुँदै गएको बताए ।