चिकित्सकले किन दिए हात नमिलाउन सुझाव ?

चिकित्सकले किन दिए हात नमिलाउन सुझाव ?


‘खोक्दा, हाच्छिउँ गर्दा सफा रुमाल, कपडा तथा पाखुराले नाक–मुख छोप्ने, साबुन पानीले पटकपटक हात धुने र सकेसम्म हात नमिलाएर नमस्कार गर्नु पर्दछ । रुघाखोकी सङ्क्रमित भएकासित कम्तीमा एक मिटरजतिको दूरी कायम गर्दा राम्रो हुन्छ । यसो गरे इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन निकै मद्दत पुग्छ ।’

यो सुझाव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका डा. सरोज अधिकारीको हो । चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको र आमतप्कामा यससम्बन्धी चासो र चिन्ता बढेको परिवेशमा चिकित्सक अधिकारीले यस्तो सुझाव दिएका हुन् ।

विज्ञ/चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ ।

विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी यतिबेला बढेको छ । डा. अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०-६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् । विगत वर्षको तुलनामा यसपटक रुघाखोकीका बिरामी धेरै देखिएको र यसको मूल कारण चिसो, बढ्दो धुलोधुवाँको असर हुनसक्ने उनको धारणा छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा इन्फ्लुएञ्जा रोग पहिचान गर्न निःशुल्क परीक्षण हुने गरेको छ । प्रयोगशालाले गत मङ्सिर र पुस महीनामा ३३४ बिरामीको घाँटीको ऱ्यालको नमूना परीक्षण भएकामा १४६ मा सिजनल इन्फ्लुएञ्जा ए एचवान एनवान पिडिएम नाइन देखिएको जनाएको छ । तर कडा खालको इन्फ्लुएञ्जाले मृत्यु हुनसक्ने जोखिम रहन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा÷हाच्छिउँ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैं पनि निको हन्छन् । तर विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वासलगायत) प्रभावितमा यसको जोखिम बढी हुन्छ । मृत्यु हुने सम्भावना पनि अन्यभन्दा बढी हुन्छ ।

ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएञ्जा सामान्य लक्षण हुन् । चिकित्सकका अनुसार बालबालिकामा वाकवाकी लाग्ने-बान्ता हुने, पेट मडारिने, झाडापखाला हुने, हाच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा आलस्य हुने लक्षण देखा पर्दछन् ।

रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यकरुपमा हात नलैजाने, जथाभावी नथुक्ने-सिँगान नफाल्ने, रुघाखोकी लागेका व्यक्ति कम्तीमा पाँच दिन दिनसम्म घरमै आराम गरेर बस्ने, सङ्क्रमित व्यक्तिलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्ने चिकित्सक अधिकारीको सुझाव छ । यसैगरी भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने, दूध चुस्ने उमेरका बालबालिकालाई साविकबमोजिम नियमित स्तनपान गराउने सल्लाहसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखुवाउने चेतावनी पनि दिन्छन् उनी ।

महाशाखाले सिजनल इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन निरन्तर सूचना तथा सन्देश प्रवाह भइराखेको जनाएको छ । महाशाखालाई उद्धृत गर्दै राससले जनाएअनुसार सङ्क्रमणलाई प्रकोपका रुपमा देखा पर्न नदिन सबै स्वास्थ्य संस्थालाई सजग र तयारी अवस्थामा समेत राखिएको छ ।