रितिक र टाइगरसँगै दिशाले पनि ‘स्टन्ट्स्’ देखाउने

रितिक र टाइगरसँगै दिशाले पनि ‘स्टन्ट्स्’ देखाउने


यस वर्षको अन्त्यतिर अर्थात अक्टुबर २०१९ मा रितिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको एउटा फिल्म प्रदर्शन हुँदैछ । दुवै नायक एक्सन र स्टन्ट्स र डान्समा माहिर भएकाले यतिबेलादेखि नै दर्शकहरूको लागि उक्त फिल्म चासो र प्रतीक्षाको विषय बनेको छ । यशराज फिल्मको ब्यानरमा बन्न लागेको यो फिल्मको नाम अहिलेसम्म गोप्य नै राखिएको छ ।

आफ्नो प्रेरणाको स्रोत मान्दै आएका नायक रितिकका साथ फिल्म खेल्ने अफर आएपछि टाइगरले दायाँबायाँ नसोची फिल्म खेल्न तत्काल स्वीकृति जनाएका थिए । यो क्षण आफ्नो लागि अविश्वसनीय रहेको भन्दै टाइगरले यो फिल्म आफ्नो फिल्मी करियरको एक माइलस्टोन नै रहेको समेत उल्लेख गरे ।

यतिबेला फिल्मको लागि दुईजना नायिकाको खोजी भइरहेकोमा रितिकको अपोजमा वाणी कपुरको छनोट भैसकेको बताइन्छ । त्यस्तै, टाइगरको लागि अर्की नायिकाको खोजी भैरहेको छ, जसको चयन अहिलेसम्म गरिएको छैन ।

फिल्म निर्देशक सिद्धार्थ आनन्द यतिबेला स्टन्ट्स्मा पोख्त नायिकाको खोजीमा छन् । ज्याकलिन फर्नान्डेज र दिशा पटानीको नाम टाइगरको जोडीको रूपमा चर्चामा छन् ।

पछिल्लो समय दिशा पटानीको नाम फाइनल भएको चर्चा चले पनि अहिलेसम्म त्यसको खुलासा गरिएको छैन । यतिबेला दिशा सलमान खानसँग ‘भारत’ फिल्ममा व्यस्त छिन् । भारत फिल्मको लागि दिशाले स्टन्ट्सको लागि विशेष तयारी गरेकिले उनलाई यो फिल्ममा लिएको बुझिएको छ ।

अझ फिल्ममा दिशा र टाइगरको जोडी हिट भएकोले पनि निर्देशक सिद्धार्थले दिशालाई फिल्ममा लिन लागेका हुन् । रियल लाईफमा टाइगर र दिशा एकदमै मिल्ने साथी हुन् । यी दुवैले बागी–२ मा सँगै अभिनय गरेका थिए ।