बढेकै हो त विश्वमञ्चमा नेपालको महत्व ?

बढेकै हो त विश्वमञ्चमा नेपालको महत्व ?


कूटनीतिक जानिफकारहरू भन्छन्– कुनै साना तथा कमजोर राष्ट्रलाई जब विश्वका शक्तिशाली मुलुक एवम् विश्व–समुदायमै प्रभाव पार्ने हैसियतका अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठन तथा मञ्चहरूले महत्व दिन थाल्छन्, त्यतिबेला बुझ्नुपर्छ कि सम्बन्धित देश अन्तर्राष्ट्रिय रणनीतिको क्रीडास्थल बन्न पुगेको/पुग्दै छ या उक्त देश चामत्कारिक हिसाबले विकास र समृद्धिको यात्रामा उन्मुख हुँदै छ । कूटनीतिक वेत्ताहरूले स्वीकार गरिआएको यस मान्यतालाई आधार तुल्याएर नेपालको वर्तमान परिवेशमाथि सर्सर्ती दृष्टि दिने हो भने स्पष्ट अनुभूति गर्न सकिन्छ– संसारका शक्तिशाली मुलुक तथा सङ्घ–सङ्गठन, मञ्च आदिले यस देशलाई उच्चतम चासो दिएर व्यवहार गरिरहेका छन् । केही समययताका विभिन्न घटना–सन्दर्भले यसको सङ्केत गरेका छन् भने पछिल्ला दुई सन्दर्भलाई ज्वलन्त उपमाको रूपमा लिन सकिन्छ ।

विकास, समृद्धि र शक्तिका हिसाबले विश्वलाई नै नियन्त्रण, निर्देशन एवम् दिग्दर्शन गर्दै–गराउँदै आएको अमेरिकाले सोह्र वर्षको अन्तरालमा नेपालका परराष्ट्रमन्त्रीलाई अत्यन्त मान–महत्वका साथ आमन्त्रण गऱ्यो । नजिकको छिमेकी चीनसँग अमेरिकाको आर्थिक–द्वन्द्व चरमोत्कर्षमा रहेको बेला उसले सामरिक महत्वको देश नेपालका परराष्ट्रमन्त्रीलाई एकाएक निम्त्याएर निकै खातिरदारी दर्शाएको सन्देश प्रवाहित गरिदियो । सत्तारुढ कम्युनिस्ट पार्टीका नेता मात्र नभई प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकी समकक्षीले आफूलाई दिएको ‘महत्व’ एवम् मानमनितोबाट यति प्रभावित हुन पुगे कि उनले नेपाल–चीन सम्बन्धलाई प्रभावित तुल्याउन सक्ने तिब्बती शरणार्थीजस्ता मामलालाई समेत प्रकारान्तरले उपेक्षा गरेझैँ अनुभूति गरियो । अर्थात्, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थ्याउँदै आएको ‘साम्राज्यवादी देश’ अमेरिकाको आतिथ्यताप्रति परराष्ट्रमन्त्री नतमस्तक भावमै प्रकट हुन पुगे ।

विश्वका धनी मुलुकहरूको मञ्चको रूपमा चिनिँदै आएको ‘विश्व आर्थिक मञ्च’को आमन्त्रणपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्यान्ड यात्रामा छन् । पचास वर्षमा नेपाललाई पहिलोपटक यस्तो फोरममा सहभागी हुने अवसर हासिल भएको भन्दै सरकारी पक्षले यस सन्दर्भको ‘महिमागान’ गरेका छन् ।

यस्तै, विश्वका धनी मुलुकहरूको मञ्चको रूपमा चिनिँदै आएको ‘विश्व आर्थिक मञ्च’को आमन्त्रणपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्यान्ड यात्रामा छन् । पचास वर्षमा नेपाललाई पहिलोपटक यस्तो फोरममा सहभागी हुने अवसर हासिल भएको भन्दै सरकारी पक्षले यस सन्दर्भको ‘महिमागान’ गरेका छन् । विश्व आर्थिक परिदृश्यमा नेपाल पनि पर्न थालेको र ‘डब्लूईएफ’को बैठकबाट नेपालले ठूलो लाभ उठाउन सक्ने सरकारी तर्क छ । तर, विश्वका अति धनी मुलुकहरूले आर्थिक विषय–वस्तुमा विचार–मन्थन गर्ने उक्त फोरममा आर्थिक रूपले रुग्ण र विश्व समुदायलाई कुनै आर्थिक कोणबाट खासै योगदान पुऱ्याउन नसक्ने हैसियतमा रहेको नेपालजस्तो देशलाई यो अवसर किन–कसरी जुऱ्यो होला भन्ने कुराको गुह्य खोतल्ने आवश्यकता सरकारले महसुस गरेको देखिएन । पछिल्ला वर्षहरूमाथि सूक्ष्म निगरानी गर्ने हो भने यस्ता घटना–सन्दर्भ अनेक भेटिन्छन् ।

अब जिज्ञासा उठ्छ– के नेपाल विकास र समृद्धिको चरणमा प्रवेश गरेकै हो त ? कि यसको कमजोरीका तन्तु केलाउँदै शक्तिराष्ट्र वा निकायहरूले आफ्ना रणनीतिक योजनासिद्धिको थलोकै रूपमा व्यवहार गर्ने तदारुकता दर्शाएका हुन् ? दुवै सवाललाई वस्तुनिष्ठ ढङ्गमा पर्गेल्नु यतिबेलाको आवश्यकता हो ।
हरेक कुरालाई शङ्काको दृष्टिबाट नियाल्नु उचित होइन भन्ने तर्क यहाँनेर स्मरण गर्नु सान्दर्भिक हुनेछ । सकारात्मक सोचले समाजलाई उन्नत र उज्यालोतर्फ डोऱ्याउन मद्दत गर्छ भन्ने कैयन विद्वतजनको मत पाइन्छ । हो, नकारात्मक र शङ्कालु भाव त्यागेर सकारात्मक बन्नेतर्फ व्यक्ति, समूह वा समाज हरदम उद्यत् रहनुपर्छ । सानातिना कमी–कमजोरी, नोक्सानी, बेथिति–विसङ्गतिलाई उपेक्षा गरेर नै उन्नति तथा समृद्धिको यात्रा छिचोल्न सकिन्छ भन्ने मतमा निकै हदसम्म सहमत हुन सकिन्छ । तर, जब सिङ्गो मुलुककै स्वाभिमान र अस्तित्वमाथि प्रश्नचिह्न खडा हुन पुग्छ, त्यस्ता विषय–वस्तु तथा घटना–परिघटनाप्रति निस्पृह भाव दर्शाएर बस्न कुनै पनि सचेत नागरिक वा तह–तप्कालाई सुहाउने विषय होइन । साम दाम दण्ड भेद सबै तरहले विश्वलाई नै ‘लिड’ गर्दै आएका मुलुक तथा अन्तर्राष्ट्रिय निकायहरूले यसरी महत्व दिनुपर्ने गरी नेपालको हैसियत उकासिएकै हो भनी विश्वस्त हुन सकिने मापन के हो त ? यसको जवाफ राज्यले दिनुपर्छ, आमनागरिकले प्रस्टै बुझ्ने ढङ्गले । होइन भने मुलुक कतै धरापमा पर्ने दिशातर्फ त उन्मुख भइरहेको छैन ? यस कोणबाट विचार गर्न विलम्ब गर्नुहुँदैन ।

शासन–सत्तामा रहेका वा ओहदामा रहेर व्यक्तिगत सानमान–मोजमस्तीलाई महत्व दिने प्रवृत्तिको वशमा परेकाहरूले यस्ता विषयलाई ‘फाल्टु’ भन्दै उपेक्षा गर्न सक्छन्, आलोचनाको निम्ति आलोचना गरिएको तर्क गर्दै देशको चिन्ता गर्नेमाथि नै खनिन सक्छन् र तिनको उपहास गरेर संवेदनशील विषयलाई नै ओझेलमा पारिदिन सक्छन् । सत्तासीनहरूको प्रवृत्ति यस्तै–यस्तै महसुस गरिँदै छ । तसर्थ, पिसाबको न्यानो क्षणभरको निम्ति मात्र हो भन्ने तथ्य सरोकारवाला हरेकले महसुस गर्नु अपरिहार्य भइसकेको छ ।