अमेरिकाले एक वर्षमै बेच्यो ४४ अर्ब डलरका भिडियो गेम

अमेरिकाले एक वर्षमै बेच्यो ४४ अर्ब डलरका भिडियो गेम


‘फोर्टनाइट’, ‘पोकेमोन गो’समेतका लोकप्रिय भिडियो गेम उद्योगबाट संयुक्त राज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरूकै सबैभन्दा उच्च हो ।

इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (ईएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ । ‘मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,’ एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले बताए ।

ईएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकोमा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ ।

गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल ‘रेड डेड रिडेम्पसन २’ को बिक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘ब्याक अप्स ४’ र ‘कल अफ ड्युटी’ रहेका थिए ।

ईएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए । अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन् । यस उद्योगमा दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।