भारतीय मूलकी कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

भारतीय मूलकी कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा


अमेरिकी सिनेटर कमला ह्यारिसले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा ह्यारिसले पनि आफूलाई उभ्याएकी हुन् । उनले आज (सोमबार) उम्मेदवारी घोषणा गरेकी हुन् ।

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैंमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको कमलाले बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देशमार्फत् उनले उम्मेदवारी घोषणा गरेको सन्दर्भलाई एएफपीले सम्प्रेषण गरेको छ ।

सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि भएकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो ।

अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उहाँ कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । उनी भारतीय तामिल समुदायकी छोरी हुन् ।
अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन् । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन्।

अमेरिकामा झण्डै २२ महिनापछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।