अमेरिका–चीन व्यापार युद्धको असर : चीनको आर्थिक वृद्धि २८ वर्ष यताकै न्यून

अमेरिका–चीन व्यापार युद्धको असर : चीनको आर्थिक वृद्धि २८ वर्ष यताकै न्यून


चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झन्डै तीन दशकयताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्यांकमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापारयुद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो ।

राष्ट्रिय तथ्यांक ब्युरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकोमा समग्र तथ्यांक विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रूपमा कमी आएको छ । अर्थविज्ञहरूले अमेरिका–चीनबीचको व्यापार तनाव कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् ।

‘वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,’ एनबीएसका आयुक्त निङ जिझेले बताए । चिनियाँ प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनियाँ अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाव तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो ।

दुई नेताबीचको सहमतिसँगै दुईदेशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनियाँ उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदै छ ।

चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गत वर्ष डिसेम्बरमा कमी आएको छ ।

प्रधानमन्त्री लीले गत साता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताएका थिए, तर तथ्यांकहरू भिन्न रूपमा देखिएका छन् । गत वर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । ‘ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,’ क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए ।

ऋण प्रवाहमा भएका कडाइले गत वर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६.६ प्रतिशतबाट घटी भई गत वर्ष ६.२ प्रतिशत कायम भएको छ ।

विज्ञहरूले चिनियाँ सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनियाँ सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ ।