नवौँ बबिन स्मृति खुला ब्याडमिन्टन अर्को साता

नवौँ बबिन स्मृति खुला ब्याडमिन्टन अर्को साता


नवौँ बबिनविक्रम विष्ट स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता माघ १२ गतेदेखि आयोजना हुने भएको छ । भीमसेनगोलास्थित सबैभन्दा पुरानो र सम्मानित क्लब किंग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिनविक्रम विष्टको सम्झनामा आयोजना गरेको प्रतियोगिता नवौँ संस्करणसम्म आइपुगेको क्लबका सल्लाहकार प्रतियोगिता संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाहले जानकारी गराए ।

पुरुष युगलमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न क्लब, संस्था तथा व्यक्तिगत रूपमा करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगलतर्फ शीर्ष २० वरीयतामा रहेका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य रहेका कारण पुरुष एकल र युगलतर्फ शीर्ष २० वरीयता प्राप्त खेलाडीलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्न बन्देज गरिएको संयोजक शाहले बताए ।

भीमसेनगोलास्थित खुला कोर्टमा बिहानको समयमा मात्र हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने जोडीले नगद ४० हजार, २५ हजार र १५ हजारका साथै मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । माघ २६ गतेसम्म हुने प्रतियोगिताको अनुमानित लागत करिब ४ लाख ९५ हजारको रहेको छ ।