ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट

ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट


नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दीपक विष्टले जनाएका छन् ।

छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व रह्यो । पाँचमध्ये प्रहरीका चार खेलाडी प्रारम्भिक छनोटमा परे । बाँकी १ खेलाडी नेपाल आर्मी क्लबका रहे । पुरुष ५८ केजीमुनि प्रहरीका मनोज मल्ल पहिलो भए । फाइनलमा उनले आर्मीका सागर गुभाजूलाई २३–१६ ले पराजित गरे । ६८ केजीमुनि प्रहरीका वीरबहादुर महरा पहिलो भए । उनले फाइनलमा एपीएफ क्लबका उमेश राजभण्डारीलाई ३३–१२ ले हराए । ८० केजीमुनि फाइनलमा प्रहरीका निश्चलमान श्रेष्ठले आर्मीका रामहरि महतको चुनौती १४–१० ले समाप्त पार्दै शीर्ष स्थानमा रहे ।

महिला ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो बनिन् । युनिशाले फाइनलमा एपीएफकी अस्मिता खड्कालाई २८–२० ले निराश पारिन् । ५७ केजीमुनि प्रहरीकी निमा गुरुङले आर्मीकी रेश्मा थापामाथि २०–८ को जित निकाल्दै पहिलो भइन् ।

एकदिने छनोटअन्तर्गत पुरुषमा ३ स्पर्धामा ३५ तथा महिलामा २ स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।