दानवीर गौरीराजको सत्कर्मको स्वागत

दानवीर गौरीराजको सत्कर्मको स्वागत


समाज दिन–प्रतिदिन स्वार्थी बन्दै गएको छ । व्यक्तिगत स्वार्थसिद्धिका निम्ति तँछाड–मछाड गर्ने प्रवृत्ति बढेको छ । तर, यसो भन्दैमा परोपकारी मनहरूको खडेरी नै परिसक्यो, दानी–मनकारीहरू समाजमा छँदैछैनन् भन्ने चाहिँ होइन । सामाजिक कार्यका लागि लाखौँ–करोडौँ खर्च गर्ने धन र मन भएकाहरू समय–समयमा आफ्नो उदार हृदयको परिचय कर्ममार्फत दिइरहेका हुन्छन् ।

यस्तै दातामध्येका एक हुन्– चितवन रत्ननगरका गौरीराज जोशी, जो हाल अमेरिकाको टेक्सासमा आईटी व्यवसाय गरिरहेका छन् छन् । सामाजिक कार्यमा हात बढाउन हरदम अग्रसर रहने जोशीले पचास लाख मूल्य पर्ने रत्ननगरको २२ कट्ठा जमिन वडा कार्यालय भवन निर्माणका लागि उपलब्ध गराएर समाज तथा राज्यलाई गुन लगाएका हुन् ।

कूल २ कट्ठा १० धूर क्षेत्रफलमा निर्माण भएको वडा कार्यालय भवनको उदघाटन समेत गरिएको छ । जोशी एक्लैले उपलब्ध गराएको २२ धुरमा थप जमिन स्थानीय समाजसेवी गुणचन्द्र विष्ट र दिनेशकुमार चुकेले सहयोग गरेका हुन् ।

युवा समाजसेवीका रूपमा सुपरिचित जोशीले चितवनका विभिन्न सामाजिक सङ्घ–संस्था, विद्यालय, मठ–मन्दिरमा आर्थिक सहयोग गरेका छन् भने एम्बुलेन्सहरू उपलब्ध गराएर हजारौँ बिरामीको निम्ति सेवा पुर्याएका छन् ।

गत शुक्रबार आयोजित भवन उदघाटन समारोहमा चितवनका प्रदेशसभा सांसद कृष्णप्रसाद खनालले जोशीलगायतका दानवीरहरूको खुलेर प्रशंसा गरे भने समारोहमा उपस्थित स्थानीय सरोकारवालाले ताली बजाएर दाताहरूको सत्कर्मको स्वागत गरेका थिए ।