राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई


सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिससँगको उपाधि भिडन्तमा एपीएफले ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । एपीएफले पुलिसविरुद्ध पहिलो सेटमा २५–८ को सहज जित निकाल्यो । पुलिसले दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ ले आफ्नो नाममा लेखाउँदै खेल १–१ को बराबर ल्याउन सफल भयो । एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई २५–१७ र २५–१७ को स्कोरमा रोक्दै उपाधि जितेको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–१४, २१–२५, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको थियो । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टिम एपीएफले ३ लाख ५० हजार, पुलिसले १ लाख ७० हजार, प्रदेश ३ ले १ लाख र चौथो हुने गण्डकी प्रदेशले सान्त्वनास्वरूप रु. ५० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले नगद १० हजार प्राप्त गर्दा विद्यागततर्फ प्रदेश ३ की प्रतिभा मालीले बेस्ट स्पाइकर, पुलिसकी कमला पुनले बेस्ट सेटर र शान्ति तामाङले बेस्ट डिफेन्सको उपाधि जिते । त्यस्तै गण्डकी प्रदेशकी अरूणा शाहिले बेस्ट सर्भरको उपाधि जित्दा एपीएफकी हीरा केसीले बेस्ट ब्लकरको उपाधि हात पारिन् । एपीएफकै ज्ञानेन्द्र विष्ट बेस्ट कोच चुनिए । विधागतर्फका सबै उत्कृष्टले जनही ५ हजार हात पारे ।