कारबम आक्रमणमा १८ को मृत्यु

कारबम आक्रमणमा १८ को मृत्यु


अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतंककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो ।

तालिबान लडाकु समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्रायः विशेष सुरक्षाबलका सदस्य रहेका र घाइतेको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेमध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबुलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले बताएका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुर्ई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारीसाधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो ।

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्वार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले जानकारी दिएको छ । आक्रमणको क्रममा चारजना तालिबान लडाकुको सहभागिता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकु सुरक्षाबलले गरेको जवाफी कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकु समूहले जिम्मा लिएका छन् ।

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चारमाध्यमलाई यस आक्रमणमा आफूहरूको हात रहेको बताएका छन् । सन् २००१ मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गर्दैै आएका छन् ।

गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारी मारिनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।