प्रयोगको लागि अस्पतालमा राखेको नवजातको शव मृतकसँगै घाटमा !

प्रयोगको लागि अस्पतालमा राखेको नवजातको शव मृतकसँगै घाटमा !


  • प्रभु जिरेल, चरीकोट

भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्नुपर्ने भनी शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याइयो ।

लाश सद्गत गर्न सम्पूर्ण कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडा होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो । सद्गत गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि मलामी अचम्मित भए । दागबत्ती दिन लागेका बेला शवपरीक्षण गरी सिलाइएको अवस्थाको अर्को लाश भेटिएपछि सबै जना मलामी छक्क परेर अस्पताललाई गाली गर्न थाले ।

आफन्तको मलाम गएका मलामीहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि केही बेर तनावमा परेको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष वीरमान थामीले बताउनुभयो । वडाध्यक्ष वीरमानले सोबारे प्रहरीलाई खबर गर्नुभयो । प्रहरीले बच्चाको लाश बुझेर फेरि अस्पताललाई बुझायो । त्यसपछि मात्र कालमानको लाशसद्गत गरिएको अध्यक्ष थामीले बताउनुभयो ।

यही माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका कालुमानको शव माघ ५ गते बिहान करीब ७ बजे भीमेश्वर–२ को भीरमुनि भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा शवपरीक्षण गरियो । शवपरीक्षणपछि प्लाष्टिकमा राखिएको शव बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष वीरमानले बताउनुभयो ।

चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा क्षमता घिमिरेले कालुमानको शव आफैँले शवपरीक्षण गरेको र शवपरीक्षण गरेर सिलाएपछि कार्यालय सहायकले अरू काम गरिहाल्छन् भनेर आफू बाहिर निस्कँदा गल्ती भएको हुन सक्ने बताउनुभयो । प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उहाँले जानकारी दिनुभयो ।

बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृतावस्थामा चार केजी तौल भएको शिशु माघ ४ गते प्रस्तावित चरीकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले शिशुको लाश नलगेपछि के कारणले जन्मनुअघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनका लागि शिशुको शव परीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ ।

rss