निजी विद्यालयबाट अर्बौं कमाउने युग अन्त्य हुने दाबी

निजी विद्यालयबाट अर्बौं कमाउने युग अन्त्य हुने दाबी


आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

काभ्रेको भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री बाँस्कोटाले आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकलाई कारवाही गर्ने कानून बनाउन छलफल भइरहेको र छिट्टै कानून निर्माण गरिने बताएका हुन् ।

सरकारले समुदायिक विद्यालयमा गुणस्तरीयता ल्याउनसमेत अठोट गरिसकेको उल्लेख गर्दै मन्त्री बास्कोटाले विद्यालय राजनीति गर्ने, हिंसा तथा द्वन्द्व निम्त्याउने थलो नभएको जोडपूर्वक राखे । विद्यालय भविष्य बनाउने केन्द्र भएको बताउँदै उनले आ–आफ्नो आस्था होला, तर शिक्षकले विद्यालयमा राजनीति गर्न पाईंदैन, भविष्य बनाउने केन्द्रमा भविष्यका कर्णधारलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने तर्क गरे ।

मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयमा गुणस्तरीयतासँगै विद्यार्थी भर्ना बढेपछि निजी विद्यालयबाट धेरै जनाताको पैसा लिएर अर्बौँ कमाउने सीमित व्यक्तिको युगको अन्त्य हुने दाबी पनि गरे । उनले भने– ‘अबको भर्ना अभियानमा हाम्रो कक्षामा सीमित सिट बाँकी छ भन्नेछौँ, साुमदायिक विद्यालयमा भर्ना गर्न नपाएपछि मात्रै निजीमा जाने बातावरण तयार हुन्छ ।’

सो अवसरमा उनले सरकारले आफ्नो ट्र्याक समातिसकेको र अब विकासको रफ्तार बढ्दै जाने दाबी समेत गरे ।

तस्बिर रासस