तारानाथ कोइराला पार्टीको जिउँदो सहिद : सभापति देउवा

तारानाथ कोइराला पार्टीको जिउँदो सहिद : सभापति देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस लमजुङका संस्थापक सभापति स्व. तारानाथ कोइराला पार्टीको जिउँदो सहिद भएको बताएका छन् ।

कोइरालाको १३ औ दिनको पुण्यतिथिमा सहभागी हुन लमजुङ पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् । मध्यनेपाल नगरपालिका– ४ दुईपिप्लेस्थित स्व. कोइराला निवासमा पुगी सभापती देउवाले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ‘कोइरालाको सपना पूरा गर्न पार्टीमा गुट उपगुटको अन्त्य हनुपर्छ ।’ उनले भने, ‘ कोइराला पार्टीका जिउँदा सहिद हुन्, उनको योगदानको उच्च कदर र सम्मान गर्नुपर्छ ।’

सभापति देउवाले कोइरालाको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूरणीय क्षति पुगेको बताए । सो अवसरमा काङ्ग्रेस महामन्त्री डा. शसाङक कोइराला, पुर्व महामन्त्री तारानाथ रानाभाट, नेताहरु गोपालमान श्रेष्ठ, रामशरण महत, दिलबहादुर घर्ती र पुर्व राज्यमन्त्री रामचन्द्र अधिकारी, काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, पूर्व सभापतिहरु, नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जली सभामा सहभागी हुन दुईपिप्ले पुगेका थिए । लमजुङको सुन्दरबजार नगरपालिका १०, धुसेनी कोइरालाफाँटमा जन्मिएका उनी ०३६ देखि मध्यनेपाल नगरपालिका ४ रम्घामा बस्दै आएका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गर्ने प्रजातन्त्र सेनानी ७४ वर्षीय तारानाथ कोइरालाको निधन भएको हो । बीपीमाथि २०३६ साल असोज ८ गते स्याङ्जामा बहुदल तथा जनमतको प्रचारप्रसारका क्रममा पञ्चायती शासकको तत्कालीन प्रहरीबाट गोली प्रहार भएको थियो । बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गरी दायाँ खुट्टा गुमाएका तारानाथ कोइरालाको पुस २४ गते मङ्गलवार पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोइराला २०२७ मा नेविसंघ लमजुङको संस्थापक अध्यक्ष बनेका थिए । २०२८ मा तरुण दल लमजुङको संस्थापक अध्यक्ष बनेका उनी कांग्रेस लमजुङका संस्थापक सभापति समेत हुन् । २०२९ मा जिल्ला पार्टी सभापति बनेका उनी २०३६ सम्म रहे । बीपीलाई गोली लागेपछि उपचारमा रहेका उनले सभापति सम्हाल्न नसकेपछि रामचन्द्र अधिकारी सभापति बनेका थिए ।