गरेरै छोड्ने, परिवर्तन हेरेरै मर्ने !

गरेरै छोड्ने, परिवर्तन हेरेरै मर्ने !


  • स्वयम्भुनाथ कार्की

यो आलेखले कसैलाई छेड हान्न वा कसैको प्रशस्ती गाउन खोजेको होइन । बरु पङ्क्तिकारको परिवेश र त्यसको भोगाइकोे गाथा हो । यो एक्लो पङ्क्तिकारको कुरा मात्र पनि नभई पूरा देश अझ भन्ने हो भने भारतवर्ष भनिने यो आर्यावर्तमा रहने हरेक देश र त्यहाँका बासिन्दाहरूको गाथा हो । त्यसैले मेरो भन्नुभन्दा हाम्रो भनिनुपर्ने हो, तर मैले यसलाई मेरो भनेँ । यो अकारण भने होइन यसमा एक मनोविज्ञान लुकेको छ । मेरोभन्दा त्यसप्रतिको अधिकार र जिम्मेवारी बराबर बहन गर्ने सोच आउँछ भने हाम्रोभन्दा अधिकारमा मेरो र कर्तव्यमा हाम्रो भन्ने सोच बलियो हुन्छ । र, यो नै हामी यस उपमहाद्वीपको भोगाइ र लाचारी हो ।

सामाजिक जिम्मेवारी र भावना बोकेका युवाहरू थोपाथोपा भएर मिल्दै गए । आफ्नो सोच, क्षमता अनि दायराअनुसारको अहिंसात्मक कार्यक्रम गर्दै गए । विकृति र विसङ्गतिविरुद्धको यो सामाजिक अभियान अभिनव थियो, प्रशंसनीय थियो । राजनीतिभन्दा फरक क्षेत्रबाट पनि राष्ट्र र समाजलाई राम्रो योगदान दिन सकिने रहेछ भन्ने नजिर बस्दै गएको थियो । तर, त्यो समूह कुकुर चिह्न लिएर कुकुरजस्तै वफादार राजनीति भन्दै विवेकशील नामले राजनीतिक दलमा परिवर्तन भयो । त्यसपछि त्यसलाई माया गर्ने, मन पराउने, सहयोग गर्ने घटे । किनभने धेरै कुनै न कुनै पुराना दलमा आबद्ध थिए, मन परे पनि अर्को दललाई ओठे प्रशंसाबाहेक साथ दिन सक्दैन थिए ।

अर्कोतिर बीबीसीमा नेपाली कार्यक्रमको टोलीमा रहेका रवीन्द्र मिश्र केही अपवादबाहेक अपेक्षाकृत निष्पक्ष विषय उठाउने पत्रकारका रूपमा प्रतिष्ठित हुँदै थिए । कुल घरानका हुनेखाने परिवारका सदस्य राष्ट्रलाई माया गर्ने लब्धप्रतिष्ठित मनुजबाबु मिश्रका छोरा हुन् । यो उनको व्यक्तित्व निर्माणको महत्वपूर्ण हिस्सा हो । केवल बीबीसीको पत्रकारको रूपमा उनी त्यो स्थानमा पुग्न सक्थे वा सक्दैन थिए । उनको विश्वासमा मान्छे समाजसेवा गर्न चन्दाको ओइरो लगाउँथे । कसैले त्यो कोषको उपयोगमा प्रश्न उठाउने प्रयत्न गरेको भए पनि त्यसलाई नपत्याउने नै धेरै थिए । त्यसैले त्यो कोषका चन्दादाता विचलित भएनन्, उनको यो कामलाई अझ विवेकपूर्ण तरिकाले निरन्तरता दिएको भए त्यसले राष्ट्रमा थप योगदान पुऱ्याउने थियो ।

राजनीतिलाई सबै नीतिको मालिकको रूपमा फुर्क्याइएको छ, अनि राजनीतिक क्षेत्रमा लागेकाले सहज प्रगति गरेको देखेका छन् । अर्थात् आफ्ना जस्तासुकै सपना पनि पूरा गर्ने सजिलो बाटोको रूपमा मेरो देशमा राजनीति स्थापना भएको छ ।

तर, उनी परिपक्व भन्न सकिने व्यक्तिहरू सामेल गरेर तराजु चिह्न लिएर साझा नामको राजनीतिक दल खोल्न पुगे । उनको दलमा राजनीतिबाट भन्दा अन्य क्षेत्रबाट परिचय बनाएकाहरूको बाहुल्य थियो । त्यहाँ जोसिला युवाभन्दा अनुभवले खारिएको होसिला उमेरले पाकाहरू थिए । यी दुवै कुकुर चिह्न र तराजु चिह्नधारीहरूले दल आफ्नो भित्री इच्छाले होइन बाहिर उनीहरूलाई उक्साइएका भरले कोचरिएका इच्छाले गठन भएका थिए । अहिले पनि रवि लामिछाने, कुलमान घिसिङ आदिलाई मन्त्रीको रूपमा देख्न चाहनेहरूले सामाजिक सञ्जाल टम्म पारेका छन् । यस्ता सपना देख्नेहरू मुलुकको भविष्य नदेखेर कुण्ठित हुनेहरू नै हुन्, यस्तो कुण्ठा धेरथोर मात्रामा हामी सबैमा छ ।

राजनीतिलाई सबै नीतिको मालिकको रूपमा फुर्क्याइएको छ, अनि राजनीतिक क्षेत्रमा लागेकाले सहज प्रगति गरेको देखेका छन् । अर्थात् आफ्ना जस्तासुकै सपना पनि पूरा गर्ने सजिलो बाटोको रूपमा मेरो देशमा राजनीति स्थापना भएको छ । मेरै देशमा एक व्यक्तिले राजनीति गर्न नसक्ने दलमा नै आउनुपर्ने बाटो मात्र छोडेको छ । यसै मिथ्या अवधारणको सिकार भए यी दुई दल खोल्ने अगुवाहरू । स्थानीय निर्वाचनमा दुवैले जनताबाट राम्रो मोल पनि पाए । अनि हावा विश्लेषक वर्गको सतही विश्लेषण शुरु भयो यदि यी दुई मिलेका भए ? यो विश्लेषणले जन्मियो विवेकशील साझा पार्टी । हौसिएर उसले नारा दियो ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ।’

म अलि बेग्लै कोणबाट सोच्ने गर्दछु । मैले त्यसैबेला भनेको थिएँ– यो जोडी लामो चल्दैन पारपाचुके हुन्छ । मेरो यो कुरामा विमति जनाएर मलाई तर्कमा धेरैले हराए । तर, मेरो मान्यता भने कायम नै थियो । यो मान्यता थप बलियो त्यसबेला भयो जब रवीन्द्र मिश्रको एलिट क्लब विराटनगरमा भएको कार्यक्रममा भाग लिए । एलिट क्लबको ढाँचा छ, पहिले प्रमुख वक्ताले बोल्छन् । त्यसपछि सहभागीहरूले जिज्ञाशा, धारणा राख्छन् । अनि फेरि वक्ताले ती कुरामा आधारित भएर केही बोल्छन् । त्यसबेला मैले उनलाई भनेको थिएँ– मैले रवीन्द्र मिश्रमा नेता होइन विश्लेषक पत्रकार नै भेटेँ । मेरो यो मान्यता बन्नको ठोस कारण थियो दुवै दलको सोचको आयाम र काम गर्ने तरिका । दुई पिँढीलाई प्रतिनिधित्व गर्ने दुई अलग दल जोडेर एक बनाउन खोज्नु नै ठीक हैन । दुवैले राष्ट्रलाई रचनात्मक योगदान दिन सक्छन् । आवश्यकता एकता होइन, सहकार्यको हो । उनीहरूलाई राजनीतिक हावा नलागोस्, एक–अर्कालाई आरोप–प्रत्यारोपभन्दा यो पारपाचुकेलाई सहज रूपमा लिऊन् ।