नक्कली मह बनाउने समूह प्रहरी नियन्त्रणमा

नक्कली मह बनाउने समूह प्रहरी नियन्त्रणमा


पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली महसरहको मूल्य लिएर व्यापार हुँदै आएको पाइएको छ । राजमार्गनजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हँुदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो ।

बजारमा महको माग उच्च छ । मह बिक्रीका लागि भन्दै शहरबजारदेखि घरघरमा व्यवसायी आउने गर्दछन् । माग उच्च भएपछि व्यवसायीले नक्कली मह बनाएर उपभोक्तालाई बेच्ने गरेको पाइएको छ । नक्कली मह तयार पारेर बेचेको गुनासो आएपछि पश्चिम नवलपरासीको बर्दघाटमा प्रहरी र बजार विकास समितिले छापा मारेर नक्कली मह बनाउने समूहलाई नियन्त्रणमा लिएको हो ।

मह बनाउने स्थानमा कुहिएका मौरीका चाका, मरेका मौरी, चिनीका बोरा, फिटकिरी, ड्रममा कुहिएको अवस्थामा महजस्तै देखिने पदार्थसमेत भेटिएको छ

पछिल्लोपटक प्रहरीले नक्कली मह बनाउँदै गरेको सूचनाका आधारमा बर्दघाट बजार विकास समिति, स्थानीय तहका प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीको एक समूहले १२० लिटर नक्कली मह बरामद गरेको थियो ।

मह बनाउने स्थानमा कुहिएका मौरीका चाका, मरेका मौरी, चिनीका बोरा, फिटकिरी, ड्रममा कुहिएको अवस्थामा महजस्तै देखिने पदार्थसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले नक्कली मह बनाउने कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर खाद्य मिसावटअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

तिनीहरूले घरभाडामा लिएर मरेका मौरी र कुहिएका मौरीको चाका प्रयोग गरेर गन्ध मात्र महको आउने बनाई अन्य पदार्थ मिसावट गरेर गाउँगाउँमा मह बेच्दै आएका थिए ।