भक्तपुर नगरपालिकाले गरिब विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाले गरिब विद्यार्थीलाई शैक्षिक ऋण दिने


भक्तपुर नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।

नगरपालिकाले स्थायी बसोवास गर्ने गरिब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. पाँच लाखसम्मको ऋण दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । निर्देशिकाअनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई ध्यानमा राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

नगरप्रमुख सुनिल प्रजापतिले सो निर्देशिका नगरका गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए । उनले भने, ‘ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिका गरिएको छ ।’

निर्देशिका पारित गर्नुअघि नगरसभामा सदस्य जीतेन्द्र मुनकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पूर्णगोपाल राजचल, श्यामसुन्दर माता, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समयावधि थप्नुपर्ने, पुस्तौँदेखि नगरमा बसोवास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेेलगायतका सुझाव दिएका थिए ।

त्यसैगरी भक्तपुर नगरपालिकाको चौथो नगरसभाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । अपांगता भएका नगरवासीलाई सहज ढंगले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका संयोजक सुवालले बताए ।