डोल्पा तीन दिनदेखि सञ्चारविहीन, कामकाज प्रभावित

डोल्पा तीन दिनदेखि सञ्चारविहीन, कामकाज प्रभावित


शुक्रबार दिउँसोदेखि मोबाइल र ल्यान्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको छ ।

जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जीएसएम र सीडीएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन् ।

मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइसकिएकाले मंगलबारसम्ममा सेवा सञ्चालन हुने नेपाल टेलिकम नेपालगञ्जका कार्यकारी प्रमुख शिवराज खनालले बताए । दुईवटै मोबाइल सेवासँगै ल्यान्डलाइन टेलिफानसमेत बन्द भएपछि दुनैलगायत विभिन्न स्थानीय तह रहेका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।