चिलीमा ६.७ म्याग्निच्युडको भूकम्प

चिलीमा ६.७ म्याग्निच्युडको भूकम्प


दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण–पश्चिममा रहेको थियो ।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो ।

भूकम्पपछि हजारौँ घरमा विद्युत सेवा अवरुद्ध भएको थियो । राष्ट्रिय विपद् कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो । तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताए ।

चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

सन् १९६० मा चिलीको भाल्डिभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ । अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।