तनहुँ पुगेका देउवाद्वारा छाडातन्त्रविरुद्ध आन्दोलित हुन निर्देशन

तनहुँ पुगेका देउवाद्वारा छाडातन्त्रविरुद्ध आन्दोलित हुन निर्देशन


तनहुँ काङ्ग्रेसले आज (आइतबार) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बेग्लै ढंगमा प्रस्तुत भए । उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अनुशासनको खडेरी परेको आशय व्यक्त गरे । पार्टीभित्र अनुशासनको खाँचो रहेको औंल्याउँदै उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।

अर्ली अधिवेशनको चर्चाबारेको जिज्ञासमा उनको जवाफ थियो- ‘विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको कोही पछाडि नलागुन्, यो सम्भव छैन ।’ केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने उनको भनाई थियो ।

सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भन्दै उनले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने दाबी गरे । एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत उनले दिए ।

महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान काङ्ग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने दाबी पनि उनले गरे । हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले सरकारविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई देउवाले निर्देशन पनि दिए ।