नेकपालाई बहाना बनाएर ‘राजतन्त्र’ ब्युँताउन खोजेको आरोप

नेकपालाई बहाना बनाएर ‘राजतन्त्र’ ब्युँताउन खोजेको आरोप


नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको नेकपालाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर ‘राजतन्त्र’लाई पुनर्स्थापित गर्ने षड्यन्त्र ‘साम्राज्यवादी’हरुको रहेको दाबी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको दुईमहिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा शनिबार शुरुवात गर्दै नेता बुढा मगरले यस्तो बताएका हुन् ।

आफ्नो मन्तव्यका क्रममा उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल भैसकेको जिकीर गरे । यस्तो अवस्थामा नेपालमा वैकल्पिक सत्ता सञ्चालन गरेको नेकपालाई ध्वस्त पार्न र कम्युनिष्टको नाममा सत्तासीन बनेको सत्तारुढ नेकपालाई बदनाम गराउन साम्राज्यवादीहरुले विभिन्न षड्यन्त्र गरिरहेको जिकीर उनले गरे । सोही षडयन्त्र अन्तर्गत नेपालमा राजतन्त्र पुनर्स्थापित गर्ने वा सत्तारुढ नेकपाभित्र खिचलो बढाएर या त प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो सम्भव नभए कांग्रेस र तात्कालीन माओवादी केन्द्रलाई मिलाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विकल्प साम्राज्यवादीहरुले अघिसारेको तर्क उनले गरे ।

नेपालमा दलाल संसदीय व्यवस्था समाप्त हुँदासाथ वैज्ञानिक समाजवादी व्यवस्था आउने जिकीर गर्दै पार्टी अन्तरगतको मध्येपश्चिम कमाण्ड इन्चार्जसमेत रहेका नेता बुढा मगरले दलाल संसदीय व्यवस्थाको विकल्प राजतन्त्र वा पञ्चायती ब्यवस्था हुने नसक्ने धारणा राखे ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसँग पार्टी एकताबारे चर्चा चलिरहेको खुलासा गर्दै नेता सन्तोषले आफ्नो पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिबारे प्रष्ट भएर आउँदासाथ पार्टी एकीकरणमा कुनै समस्या नरहने स्पस्ट पारे ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा एकजुट भई लड्न तथा दलाल संसदीय व्यवस्था नढलेसम्म दीगो रुपमा संघर्ष अघि बढाउन वामपन्थी, देशभक्त, राष्ट्रवादी र अग्रगामी शक्तिहरुका बीच संयुक्त मोर्चा निर्माणको प्रयास भैरहेको पनि उनले जानकारी दिए ।

मिडियाहरुले भनेजस्तो आफ्नो पार्टीमाा कुनै विवाद नरहेको दाबी गर्दै उनले पार्टीका नेताहरु सबै आ-आफ्नो जिम्मा लिएर कार्यक्षेत्रमा खटिइरहेको बेला पार्टीभित्र विवाद छ भनेर अफवाह फैलाउनु मिडियाको बेइमानी भएको आरोप लगाए ।

सोही अवसरमा नेकपाका केन्द्रीय सदस्यत्रय कर्णाली ब्युरो इन्चार्ज एटम, भेरी ब्युरो इन्चार्ज शितल र धवलागिरी ब्युरो इन्चार्ज विप्लव लगायतले पार्टीले सञ्चालन गरेको अभियानका क्रममा गण्डक ब्युरोमा पार्टीको वैचारिक तथा सांगठानिक अवस्थालाई सुदृढ र बलियो पारी छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

नेकपा गण्डक ब्युरो सदस्य एवम् कास्की जिल्ला इन्चार्ज रुपेशको अध्यक्षतामा भएको सो कार्यक्रम पार्टी तनहुँ जिल्ला इन्चार्ज उवारले सञ्चालन गरेका थिए ।