आठौँ राष्ट्रिय फागुन २५ गते शुरु हुने विष्टको दाबी

आठौँ राष्ट्रिय फागुन २५ गते शुरु हुने विष्टको दाबी


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव तथा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रवक्ता केशवकुमार विष्टले आठौँ राष्ट्रिय प्रतियोगिता फागुन २५ गते हुने घटना र विचारलाई जानकारी गराएका छन् । विष्टले उक्त कुराको जानकारी माघ ६ गते आइतबार गराएका हुन् । निकै फुर्तिलो रूपमा प्रस्तुत भएका सदस्यसचिव विष्टले आठौँप्रति मडारिएका सम्पूर्ण बाधा संकटहरू पन्छिएकोसमेत संकेत गरेका थिए । प्राप्त जानकारीअनुसार विष्टले प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका संरक्षक केपी शर्मा ओलीलाई गत साता भेटेपछि उनी निकै हौसिएका छन् । प्रधानमन्त्री ओलीकै चाहना र निर्देशनअनुसार आठौँ २५ गतेदेखि शुरु गरिन लागेको बुझिन आएको छ ।

लामो समयसम्म आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न नसकेर विवादमा तानिएका राखेपका सदस्यसचिव विष्टले फागुन २५ गते देखिको आठौँको शुभारम्भ हुने दाबी गरेका छन् । घटना र विचारसँगको कुराकानीमा विष्टले भने, ‘आठौँ राष्ट्रिय २५ गते देखि शुरु हुन्छ, हुन्छ हुन्छ, मैले भने हुन्छ, तपाईं लेखिदिनुहोस् । यसमा कुनै द्विविधा छैन, अन्तिम मिति नै २५ गते हो ।’

यसभन्दा अघि आठौँको मिति दुईपटक सारेको राखेपले त्यसपछि फागुनमा गर्ने चर्चा चलाए पनि फागुनको कुन मितिमा गर्ने भनेर मिति तोक्न सकेको थिएन । त्यसपछि आठौँ फागुुनमा हुने कुरामा समेत अन्योल बढेको थियो । फागुुनमा पनि हुन्छ या हुँदैन भन्ने अन्योल बढेकै क्रममा सदस्यसचिव विष्टले आठौँ राष्ट्रिय २५ गतेदेखि हुने भनेर लालमोहर लगाएका छन् । त्यस्तै, आठौँको आयोजनाको मिति केही समयपश्चात् पत्रकार सम्मेलनमार्फत गराउने बताए ।

विष्टले आफू २५ गतेभित्रै आठौँ राष्ट्रिय प्रतियोगिताको आयोजनाको लागि युद्धस्तरमा लागको बताएका छन् । साथै विष्टले आठौँको शुभारम्भ नहुन्जेलमा आफू नेपालगञ्जमै डेरा हालेर बस्ने जानकारीसमेत गराएका छन् । यतिबेला आठौँको आयोजनाको लागि निर्माण भइरहेका पूर्वाधारहरू ९० प्रतिशत सकिसकेका र केहीले अन्तिम रूप पाइसकेको पनि विष्टले जानकारी गराए । अबको दुई महिनाभित्र सबै पूर्वाधारसँगै नेपालगञ्ज रंगशाला र दाङ रंगशाला पनि तयार हुने दाबी गरे ।

साथै अहिलेसम्म पूर्वाधार निर्माण र आयोजनको सम्पूर्ण बजेट आइनसकेको जानकारी गराउँदै विष्टले भने, ‘काम गर्दै जाँदाजाँदै उक्त बजेट पनि आउने बताए । आठौँको आयोजनाको लागि सरकार सकारात्मक रहेको र बजेट पनि केही समयपछि आउने कुरामा आफू ढुक्क भएको बताए ।’