६ घर जल्दा १९ लाखको क्षति

६ घर जल्दा १९ लाखको क्षति


घरमा बालेको घुरबाट आगलागी हुँदा सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा ६ घर जलेर नष्ट भएका छन् । आगलागीबाट १८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब १८ लाख ७५ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा जलेर रु. १० लाखबराबरको क्षति भएको छ । किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करिब रु. तीन लाखबराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रूपमा जलेर दुई लाख ७५ हजारबराबरको क्षति भएको छ ।

त्यस्तै, मन्जुर लहेरीको घरको छानो जली करिब एक लाखबराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करिब रु. ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्ण रूपमा जल्दा रु. एक लाख ५० हजारबराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

स्थानीय, प्रहरी र मलंगवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए । पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहको भनाइ छ ।