माथिल्लो तामाकोशीको बजार पुँजीकरण ३३ अर्ब

माथिल्लो तामाकोशीको बजार पुँजीकरण ३३ अर्ब


४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कारोवार शुरु भएको एक सातामा नै यतिका प्रगति भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो । गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर सूचीकरण गरेको छ । हरेक दिन करीब १० प्रतिशतका दरले सेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो ।

स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको सेयर दोस्र बजारमा प्रतिकित्ता ३ सय ११ मा खरीद बिक्री भएको छ । तर सो कम्पनीको सेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् । स्टकका अनुसार साताभर सो कम्पनीको मात्रै १ सय १६ कित्ता सेयर कारोवार भएको छ ।

बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नवील बैंकको ६७ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ छ ।

नेपाल लाइफ इन्स्योरेन्स रु ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक रु ४७ अर्ब १८ करोड, एभरेष्ट बैंक रु ४२ अर्ब ५४ करोड २३ लाख, हिमालयन बैंक रु ३८ अर्ब ७६ करोड, एनआइसी एशिया बैंक रु ३४ अर्ब ९८ करोड, नेपाल एसबिआइ बैंक रु ३२ अर्ब ९५ करोड र माथिल्लो तामाकोशीको रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ ।