दुसाध जातिको अनौठो परम्परा राहु पूजा

दुसाध जातिको अनौठो परम्परा राहु पूजा


राजविराज । तराईको पासवान (दुसाध) जातिको परम्परामध्ये राहु पूजा एक अनौठौ परम्पराका रुपमा चल्दै आउको छ ।

कुनै प्रकारको भाकल गरेपछि त्यो पूरा भएमा पूजाको आयोजना गरी उम्लेको दुधमा हात हाल्ने, तरबारको धारमा टेक्ने र आगोमा हिँड्नेसम्मको परम्परा यस जाति समुदायमा रहेको छ ।

सन्तान प्राप्ति, धन आर्जन तथा दीर्घरोग निको हुने विश्वासका साथ सप्तरीको शम्भुनाथ नगरपालिकाको भंगहामा शुक्रबार भव्यतापूर्वक राहु पूजा सम्पन्न भएको छ ।

तराईमा दलित समुदायको रुपमा रहेको दुसाध जातिको राहु पूजामा यस्तो संस्कृति पाइन्छ । पूजा जसले गराए पनि पुजारी भने दुसाध (पासवान) जातकै हुनुपर्ने परम्परा रहेका कारण यसपटक त्यहीँका छुतहरु पासवानले पुजारीको जिम्मेवारी सम्हालेका छन् ।

पूजास्थलमा पकाइएको उम्लँदै गरेको खीरको भाँडोमा हात हालेर खीर चारैतिर छर्किने, बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने, बल्दै गरेको आगोमा हिँड्ने र भेडालाई दाँतले चेपेर घुमाउने पूजाको विशेष आकर्षण रहेको थियो ।

यी चारवटै काम यसपटकको पूजामा पुजारी छुतहरु पासवानले गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट त्यहाँ भेला भएका पुरुष महिलाहरु राहु पूजामा सहभागी भए ।

पूजाका लागि जुनसुकै जातका मानिस पनि सहभागी हुन सक्ने भन्दै राष्टसभाका पूर्व उपाध्यक्ष तथा पासवान समुदायका अगुवा रामपृत पासवानले जानकारी दिए। यो पूजा श्रीपञ्चमी नजिकिएपछि हुने गरेको जानकारी समेत उनले दिए । उनका अनुसार राहु पूजाको चलन निकै पुरानो रहेको छ ।