राजीनामा गर्ने जंगबहादुरको इच्छा

राजीनामा गर्ने जंगबहादुरको इच्छा


राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । त्यसैले हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तनौँ । अनि हामी हजारौँ युक्तिसङ्गत व्याख्या र विवेचना गर्दछौँ । तर, यो सिद्धान्त खास गरेर आफ्नो पद र प्रतिष्ठाको उचाइ प्राप्त गरेका कारण व्याख्या गर्न नसकिने अवस्थामा पुगेका ती राजनीतिक व्यक्तिहरूमा लागू हुन्छ । उनीहरूलाई बुझ्ने हाम्रा प्रत्येक प्रयास निरर्थक साबित हुन्छन् ।

सन् १८५६ अगस्त १ मा जंगबहादुरले अकस्मात् प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भाइ बमबहादुरलाई आफ्नो उत्तराधिकारी घोषणा गरे । यो घोषणाले सम्पूर्ण नेपाली जगत् आश्चर्यचकित भयो । यो आकस्मिक निर्णयले गर्दा उनका आफ्नै भाइहरू पनि विस्मित भए । मुलुकभरि यसको सर्वत्र चर्चा परिचर्चा चल्यो । स्वयम् जंगबहादुरसँग यसको उचित स्पष्टीकरण थिएन । अतः उनले आफ्नो बल र बर्कतले आगामी दायित्व र गहन जिम्मेवारी वहन गर्न आफू असमर्थ भएको तर्क अगाडि सारे । उनले असमर्थताको प्रमुख कारण आफ्नो व्यक्तिगत स्वास्थ्यलाई दिए, तर उनको यस तर्कमा कसैको पनि विश्वास थिएन ।

यो अप्रत्यासित कारबाहीप्रति सबैले शङ्काको दृष्टिले हेरे । हुन पनि उनले यतिका वर्षसम्म राष्ट्र उत्थानका निम्ति अनवरत रूपमा ज्यानको बाजी लगाएर परिश्रम गरेका थिए । त्यसैले उनले अनायास पद त्याग गर्नुको कुनै खास कारण देखिएको थिएन । आजभन्दा ठीक चार महिनाअघि उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक टुङ्गो लगाएका थिए । आफ्नो शासनकालको पूर्वाद्र्धमा उनले भोग्नुपरेका छलकपट र षड्यन्त्रको अन्त्य भएको थियो । विगतका अन्त्यहीन अप्ठ्यारा र भ्रमका बादल छाँटिइसकेका थिए । तर, उनको हृदयभित्र कस्तो प्रकारको चोट लाग्यो होला त ! त्यसको रहस्य भगवान्लाई नै थाहा होला ! हुन सक्छ, उनको स्वास्थ्य साँच्चै नै खराब थियो होला ।

हुन सक्छ, उनलाई आफ्नै भाइबाट पनि कुनै प्रकारको घात हुन सक्थ्यो होला ! त्यसकारण उनले आफ्नो अधिकार एउटा भाइलाई हस्तान्तरण गरे होलान् ! अन्य भारदारलाई उनीहरूको पालो पनि कालान्तरमा आउँछ भन्ने आशा देखाए होलान् । तर, यसरी अनेक प्रकारका अन्दाज लगाउनुको कुनै अर्थ थिएन । त्यसैले यस मुद्दा पछाडिको सम्भावित रहस्य शायद सदाका लागि रहस्यको गर्भमा नै रहिरहने छ ।

जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो । त्यो जिम्मेवारी उनले आफ्नो मृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए, तर आफ्नो कुशल तथा सुयोग्य दाजुको सरसल्लाहबिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।

जनताको हृदयमा जंगबहादुरको राजीनामाको खबर एउटा झट्का, एउटा क्षोभका रूपमा प्रकट भयो । जनता उनलाई अति प्रिय मित्रको रूपमा हेर्न अभ्यस्त थिए । जनतालाई उनको आशीर्वाद प्राप्त थियो भने जंगबहादुरप्रति जनताको अगाध आस्था र विश्वास थियो । तर, यस घटनाले कतै पुरानै अस्तव्यस्त, जालझेल र षड्यन्त्रको अवस्था दोहोरिने त होइन भन्ने जनताको मनमा सन्त्रास उत्पन्न भएको थियो । कतै जनताको जिउधन, जाली, फटाहा र प्रजा पीडकका मुठीमा पर्न जाने त होइन भन्ने भय सिर्जना भएको थियो । त्यसैले यो अति संवेदनशील घडीमा, अति महत्वपूर्ण कुरा थियो जंगबहादुरले देशको शासन–प्रशासनबाट सम्बन्धविच्छेद गर्नु हुँदैनथ्यो ।

त्यसकारण जनताले जंगबहादुरलाई जसरी भए पनि आफ्नो निर्णय फिर्ता लिन दबाब दिने र उनलाई पुनः पुरानै पदमा स्थापित गर्नका लागि आवश्यक कदमहरू चाल्ने निर्णय गरे । यस विषयमा छलफल गर्न कैयौँ ठाउँमा बैठक बसालियो । यस्तो प्रक्रिया नेपालमा यसअघि कहिल्यै व्यवहारमा आएको थिएन । जनतालाई आफ्नो आवाज बुलन्द गर्ने र सरकारसमक्ष उजुर गर्ने बानी परेकै थिएन । अतः राजगुरु विजयराजको नेतृत्वमा देशका सम्पूर्ण शीर्षपुरुष सम्मिलित एउटा प्रतिनिधिमण्डल थापाथली गएर पूर्वप्रधानमन्त्रीलाई भेट्न पर्खिबस्यो ।

उक्त प्रतिनिधिमण्डललाई यहाँ आउनुको कारण सोधपुछ गर्दा प्रतिनिधिमण्डलका तर्फबाट राजगुरुले निम्नबमोजिम निवेदन गरे–

‘यो राष्ट्रका सम्पूर्ण जनताको सार्वलौकिक इच्छाबमोजिम राष्ट्रको श्रीपेच हजुरका शिरमा स्थापना गर्ने सपना छ । सानातिना मानिसले गरेका सामान्य कार्यका लागि पनि उनीहरूलाई तक्मा र निवृत्तिभरण दिएर सम्मान गरिएको छ भने देशको स्थायी भलाइका निम्ति हजुरबाट भएका महान् सेवा र कर्महरूको मूल्य चुकाउन कृतज्ञताको ठूलो खाँचो परेको छ– त्यसैले ती महान् कार्यहरू सम्पन्न गरेबापत हजुरलाई उचित पुरस्कार प्रदान नगरी रहन सकिँदैन । यद्यपि हजुरलाई जति पुरस्कार र सम्मान प्रदान गरे पनि त्यो अधुरो र अपूरो नै हुनेछ । त्यसले हजुरका महान् र अद्वितीय कार्यको मापन गर्न सक्नेछैन । न त हामीले प्रकट गरेका आभारका शब्दले नै पूरा गर्न सक्नेछन् ।’

जंगबहादुरले प्रतिनिधिमण्डललाई उनीहरूको सदिच्छा भेट र सदाशयताका लागि हार्दिक धन्यवाद दिए र प्रत्युत्तरमा भने, ‘मेरो शिरमा राजमुकुट पहिल्याउने तपाईंहरूको प्रस्ताव मेरो देशका लागि हितकारी छ भने यसमा अवश्य पनि मेरो समर्थन रहनेछ । तर, मैले यो देखौवा घाँडो नभिरेरै सरकारको कामकाज रेखदेख गर्न सक्छु भने, मैले नै गद्दीमा आरुढ गराएको व्यक्तिलाई हटाएर अब म त्यहाँ बस्न सक्तिनँ । देशलाई साँचै नै मेरो सेवाको खाँचो परेको रहेछ छ भने म तत्काल कार्यभार सम्भाल्न अनकनाउने छैन– तर, मलाई मेरो स्वास्थ्यमा क्रमिक लाभ भएको अनुभूति भएपछि मात्र ।’

त्यसपछि जनताले जंगबहादुरलाई कास्की र लमजुङ दुई जिल्लाको सार्वभौमसत्ता अर्पण गर्ने निधो गरे र सजिलैसँग महाराजको पनि लालमोहर छाप लिए । देशवासीको चित्त दुखाउन नहुने आशयले जंगबहादुर यो दोस्रो सानो मायाको चिनो ग्रहण गर्न राजी भए ।

(पद्मजंग राणाको जंगबहादुरको जीवनयात्राबाट, अनुवादक : रामबहादुर पहाडी)