मिर्गौला प्रत्यारोपणपछि पनि मालचन्दको सक्रियता गज्जब !

(अन्तर्वार्ता)



258 Shares

युवा व्यवसायी मालचन्द भन्साली आफ्नो क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल मानिनुहुन्छ । राष्ट्रवादी सोचका भन्सालीको विराटनगर र काठमाडौंमा आफ्नै व्यवसाय छ । खासगरी पस्मिना व्यापारमा उहाँ सफल मानिनुहुन्छ । सन् १९७२ को मे २६ तारिखमा जन्मनुभएका उहाँले साकाहारी र ननअल्कोहलिक (मदिरा सेवन नगर्ने) जीवन पद्धति अपनाउँदै आउनुभएको छ । मदिरा र मासु कहिल्यै मुखमा नराखेका मालचन्दको ३१ वर्षको उमेरमा अचानक मिर्गौलाले काम गर्न छोड्यो । उच्च रक्तचापका कारण मिर्गौलामा समस्या पैदा भएको भन्ने उहाँको भनाइ छ । मिर्गौलामा समस्या उत्पन्न भएपछि केही वर्ष उहाँले परहेजमा रही औषधि सेवन गरी बिताउनुभयो । आफ्नी आमाबाट किड्नी लिएर प्रत्यारोपण गर्नुअघिका ६ वर्षसम्म मालचन्द दैनिक गाईको गहुँत एक सय मिलिटिर पिउने गर्नुहुन्थ्यो । डाक्टरले दिएको एलोपेथिक औषधिका साथमा उहाँले वैद्यका औषधि पनि नियमित सेवन गर्ने गर्नुभएको थियो । अठार वर्षअघि सन् २००० मा वैवाहिक जीवनमा प्रवेश गर्नुभएका मालचन्दको मिर्गौलाले काम गर्न छोडेको एक वर्षपछि जन्मिएका एक छोरा छन् । मिर्गौला प्रत्यारोपणपछि उहाँको जीवन सामान्य चलिरहेको छ ।

नेपालमा केही वर्षयता मिर्गौलाका बिरामीको सङ्ख्या निकै बढेको छ र, मिर्गौलाले काम गर्न छोडेको जानकारी पाएपछि सम्बन्धित व्यक्ति प्रायः निराश हुने गर्दछन् । तर, मालचन्दमा निराशा कहिल्यै पैदा भएन । जीवनलाई खुसी–खुसी बिताइदिनुपर्छ भन्ने मान्यताका उहाँ ‘किड्नी फेल’ हुँदैमा मानिस आत्तिनु नपर्ने धारणा राख्नुहुन्छ । मिर्गौलाका बिरामीले पनि सामान्य जीवन बिताउन सक्छ भन्ने विश्वासका एक दृष्टान्त मालचन्दसँगको कुराकानी मिर्गौलाका बिरामीहरूका निम्ति उत्साहप्रद हुने हामीले ठानेका छौँ । मिर्गौला प्रत्यारोपणपछि पनि निरन्तर सक्रिय जीवन बिताउँदै आउनुभएका भन्सालीसँगको रोचक वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।

० मालचन्दजी, किड्नी फेल भएको रिपोर्ट आउँदा सबभन्दा पहिले कस्तो महसुस गर्नुभयो ?
– किड्नी फेल भएको रिपोर्ट पाउँदा झसङ्ग भएँ । म शुद्ध साकाहारी, ड्रिङ्स पनि नगर्ने व्यक्तिको किड्नी किन–कसरी फेल हुन गयो भनी झस्किन पुगेको थिएँ ।

० कसरी त्यस्तो भएको रहेछ त ?
– पछि मात्र थाहा भयो कि ब्लडप्रेसर हाई भएको कारण मेरो किड्नी फेल हुन गएको रहेछ ।

० किड्नीले काम गर्न छोडेको रिपोर्ट पाउँदा तपाईंको उमेर के थियो ?
– लगभग ३१ वर्षको उमेर थियो ।

० ३१ वर्षको उमेरमै प्रेसरको कारण किड्नी फेल भयो, औषिध सेवन गर्नुभएको थिएन ?
– मैले चेकअप नै गराएको थिइनँ । त्यो उमेरमा त्यस्तो होला भन्ने चेतना नै थिएन, त्यसैले चेक गराएकै थिइनँ । समस्त रूपमा आफूलाई ‘फिट’ मान्छे ठान्दथेँ । असहजजस्तो लागेर चेक गराउँदा मेरो ब्लडप्रेसर २२०÷१८० देखियो । त्यो कहिलेदेखि थियो भन्ने मैले थाहा पाइनँ ।

० किड्नी फेल भएको जानकारी भएपछि शुरुमा त झस्किनुभएछ, त्यसपछि भगवान् सम्झिनुभयो कि परिवार ?
– मैले यस्तो के पाप गरेको थिएँ र यस्तो रोग लाग्यो भनी पहिले त भगवानलाई नै सम्झिएँ । तर, भगवान् निष्ठुर बनेछन् भनी गाली गरिनँ मैले, बरु धेरै ढिला नगरी रोगबारे जानकारी मिलेकोमा भगवान्प्रति कृतज्ञ नै भएँ ।

० त्यस्तो रोग लाग्नुअघि जीवनमा तपाईंले कस्तो सपना देख्नुभएको या उद्देश्य लिनुभएको थियो र त्यसपछि सोचमा कुनै परिवर्तन आयो कि ?
– त्यसपछि पनि कुनै नकारात्मक सोच वा निराशा भने ममा उत्पन्न भएन । बरु थप आत्मविश्वासका साथ म अघि बढेँ ।

० पहिले के–कस्तो उद्देश्य लिनुभएको थियो ?
– म व्यापारी घरानाको व्यक्ति हुनाले व्यापार–व्यवसाय फस्टाउँदै लैजाऊँ, एक नेपाली हुनुको नाताले आफ्नो देशलाई उन्नतितिर लैजान आफ्नोतर्फबाट पनि सक्दो योगदान पु¥याऊँ, कुनै यस्तो काम गरेर जाऊँ जसका कारण धेरैले मलाई सम्झिरहुन् भन्ने नै मेरो धारणा थियो । यो धारणा अहिले झन् बढेर गएको छ । किनकि, मैले थप केही गर्न बाँकी रहेछ र त भगवानले अकाल मृत्यु हुनबाट जोगाएका हुन् भन्ने मैले महसुस गरिरहेको छु ।

० जीवनको अबको मुख्य लक्ष्यचाहिँ के हो नि तपाईंको ?
– म असाध्य प्रकारको बिरामी भएर पनि भगवानको कृपाले, साथीभाइ तथा इष्टमित्रको शुभेच्छा र आशीर्वादले बाँचेँ, मेरो उपचार सफल भयो, यसरी जीवनमा मलाई अर्को मौका मिलेको छ । अब म बाँचिन्जेल भुलेर पनि गलत काम नगरौँ, देशको सेवा गरौँ, व्यापार–व्यवसाय इमानका साथ गरौँ । मैले सक्ने काम यही हो, यही सोच राखेको छु ।

० तपाईंलाई जब मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन कक्षमा लगियो, त्यति नै बेलाचाहिँ कस्तो महसुस हुँदोरहेछ ?
– त्यतिबेलाको सत्य कुरा गर्नुपर्दा, मैले परिवारलाई भनेको थिएँ कि म जटिल ट्रिटमेन्टको प्रेसमा जाँदै छु, बाँचेर आएँ भने भगवान्को कृपाले पछि केही न केही गरौँला, म मरेँ भने पनि तिमीहरू हरेश नखानु । काठमाडौंमै बस्नु र आफ्नो सन्तानलाई योग्य र सक्षम बनाउने कर्म गर्नु । यसकै आधारमा बुझ्नुहोस् कि मैले कस्तो महसुस गरेको थिएँ त्यतिबेला ।

० अनि बाँचेर आएपछिको अनुभूति नि ?
– देवताले मलाई केही गर् भनेर पुनर्जन्म दिएका हुन् । अब मैले सकेसम्म राम्रा काम गरेर बाँकी जीवन बाँच्नुपर्छ ।

० अहिले के–कस्ता औषधि सेवन गरिरहनुभएको छ नि ?
– किड्नी प्रत्यारोपण गर्दा जुन बेसिक मेडिसिनहरू खान दिइन्छ, जस्तो कि ‘स्टेरोयड’, यसले शरीरलाई लट्ठ पार्ने काम गर्छ । यो हरेक दिन आजीवन खानुपर्छ ।

० लठ्याउने औषधि भन्नुभयो । खासमा त्यो खाइसकेपछि कस्तो अनुभूति हुन्छ ?
– पहिलो कुरा त त्यो समयमै खाइएन भने शरीरमा तागत नै नभएको महसुस हुन्छ । एक त यसले लठ्ठ बनाएर राख्छ भने अर्को कुरा शरीरलाई काम गर्ने ऊर्जा दिन्छ ।

० मानसिक रूपले पनि कुनै परिवर्तन गराउँछ कि ?
– यसको निरन्तर प्रयोगले के गर्दोरहेछ भने मान्छे अलिकता उग्र हुनेरहेछ । आफूलाई जानकारी नभए पनि उग्रतामा धेरै कुरा बोल्दोरहेछ । के बोलेँ भन्ने ख्याल पनि खासै नराखिँदो रहेछ ।

० स्टेरोयड खाएको कति समयपछि तपाईंलाई यस्तो महसुस भयो ?
– चार–पाँच वर्षपछि सम्बन्धित मान्छेको मेमोरी पावर बेला–बेला अलिक ब्ल्याङ्कजस्तो हुने रहेछ । बेला–बेला त्यत्तिकै बढ्ता रिस उठ्ने र फेरि नियन्त्रण पनि हुनेरहेछ । यस्तो व्यवहार भइरहन्छ ।

० म के बोल्दै छु भन्ने कुराको हेक्का पनि रहँदैन ?
– कहिलेकाहीँ रहँदैन । नचाहेर पनि यदाकदा धेरै कुरा बोलिन्छ । मेरो अनुभव यस्तै छ ।

० अरूभन्दा कमजोर छु भन्ने पनि लाग्छ कि स्टेरोयडको कारणले म बलियो छु भन्ने पनि लाग्छ ?
– मानसिक रूपमा आफू एकदम पर्फेक्ट या फिट छु भन्ने महसुस हुन्छ । कमजोरी फिल हुँदैन । शुरु–शुरुमा त शरीरले रेजिस्ट गरिरहेको हुन्छ, तर चार–पाँच वर्षपछिचाहिँ दिन–प्रतिदिन बिस्तारै आँखा कमजोर हुँदै जाने, मोतिबिन्दुको समस्या निम्तिने, खुट्टा कमजोर बनाउने हुँदोरहेछ । तर, यसरी शरीरका अङ्गमा कमजोरी निम्तिए पनि मानसिक रूपले चाहिँ कमजोरजस्तो नलाग्नेरहेछ । हड्डी र आँखालाईचाहिँ कमजोर नै पार्नेरहेछ यसले ।

० स्टेरोयडको प्रभावमा कहिलेकाहीँ नबोल्ने कुरा पनि बोल्नुहुन्छ, अनि त्यसलाई सच्च्याउने भावना पनि जागृत हुँदोरहेछ कि ?
– मजस्तै अरूले के गर्छन् कुन्नि, मचाहिँ बढी बोलेको महसुस गरेर सच्याउने पनि गर्छु ।

० तपाईंले त्यो औषधिको प्रभावमा परेर के–कस्तोसम्म बोल्नुभएको या व्यवहार गर्नुभएको छ ?
– साथीभाइसँग नरिसाए पनि हुने कुरामा झडङ्ग रिसाइन्छ, व्यवसायमा लिन नहुने खालको डिसिजन पनि आवेगमा लिइन्छ । किनकि, कहिलेकाहीँ आफूमा ओभर कन्फिडेन्स पैदा हुनेरहेछ ।

० तपाईंको अहिलेको दैनिकीचाहिँ सामान्य ठान्नुहुन्छ कि अरूको भन्दा भिन्न जस्तो लाग्छ नि ?
– म ठान्न त सामान्य प्रकारकै ठान्छु, तर यो भिन्न हो । किनकि, इन्फेक्सनबाट बच्नु अत्यावश्यक हुन्छ यसमा, खानपान अत्यन्त शुद्ध हुनुपर्छ, बसाइ–व्यवहार एकदम नियन्त्रित हुनुपर्छ । तथापि, मैले आफूलाई एकदम नर्मल हिसाबले बाँचेको महसुस गरेको छु ।

० निद्रा पर्ने–नपर्ने तथा स–साना कुराले खुसी या दुःखी हुनेजस्ता व्यवहार के–कसो छ तपाईंको ?
– यी सब कुरा सामान्य छन् । भोक, निद्रा सबै कुरा सामान्य छ ।

० तपाईंको यौनजीवनमा केही परिवर्तन छ कि सामान्य नै छ नि ?
– यो पनि सामान्य नै छ । मानवीय स्वभावअनुसारको आकर्षण–विकर्षण सबै सामान्य छ । शारीरिक रूपले पनि कुनै असामान्यपन अनुभूति भएको छैन मलाई यौनजीवनका हिसाबले ।

० यसको मतलब किड्नी ट्रान्सप्लान्टपछि पनि तपाईंलाई औषधिमा खर्च गर्नुपरेकोबाहेक अन्य कुराले खास फरक परेको छैन भनेर बुझ्दा हुन्छ ?
– हो । औषधिले साइडइफेक्ट गरेर यदाकदा उत्तेजित तुल्याउने, बढ्ता आत्मविश्वासी बनाउनेजस्ता कुराबाहेक मलाई अरू खास फरक परेको छैन भनेरै बुझ्दा हुन्छ ।

० एउटा स्वस्थ मानिस र किड्नीका बिरामीलाई तपाईं के सुझाव दिनुहुन्छ त ?
– म भन्छु कि आफूले चाहेर रोग लागेको होइन, हुनु भइगयो, त्यसैले हरेश नखाई समयमा औषधि खाने, यसमा बस्नुपर्ने नियममा बस्ने गर्नुपर्छ । मानसिक रूपले बलियो रहनुपर्छ । देउताले हामीलाई रोग दिए पनि औषधि खाएर बाँच्ने उपाय पनि त दियो भन्ने अनुभूति गर्नुपर्छ । अर्को जीवन पाइएको छ– विगतमा केही नराम्रो काम गरेको भए पनि अबचाहिँ देश र समाजको लागि राम्रो काम गर्दै जाऊँ भन्ने भावना विकसित तुल्याउन पनि म आग्रह गर्दछु ।

258 Shares

प्रतिक्रिया