गैससहरू विदेशी गुप्तचर हुन सक्छन्

गैससहरू विदेशी गुप्तचर हुन सक्छन्


विभिन्न गैरसरकारी संस्था विभिन्न विषयवस्तुलाई लिएर खुलेका त छन्, तर ठोस कार्यको लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा निहित भएर गैससहरू लागेका छन् ।

नेपालमा ६ हजारभन्दा बढी गैसस छन्, तर ती गैसस कहाँबाट चलेका छन्, के काम गर्दै छन् भन्ने विषयमा भने उनीहरू आफैँ पनि मुक छन् । अहिलेसम्मको अनुसन्धानमा गैससमा कार्यरत लोग्नेमानिस ४५ सय र स्वास्नीमानिस ६३ सय रहेका पाइएको छ । १२४ वटा गैससमध्ये पारदर्शिता २८ प्रतिशतले देखाउन खोजे, उनीहरूले आफ्नो गैसस कहाँबाट कसरी चलेको छ भन्ने कुरा देखाए, तर ७२ प्रतिशतले देखाएनन्, त्यसकारणले गैससहरू डलर खाने खेती हुन् भन्ने भनाइ जायज कुरा हो भन्दै तराज बैठाले आफ्नो दातृसंस्थाको नाम युनिसेफ, आद्रा, साफ, गुठीलगायत ७ वटा गैससले मात्र बताएको कुरा पनि बताए ।

‘नेपालमा गैससको आवश्यकता महत्वपूर्ण छ । सरकारी क्षेत्रकाहरू ग्रामीण क्षेत्रसम्म पुगेका हुँदैनन् । नेपालमा निजी क्षेत्रहरू सक्रिय रूपमा आउन सकिरहेका छैनन्, त्यसकारण गैससको आवश्यकता बढी नै परिरहेको हुन्छ र भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपालमा गैससको इतिहास धेरै छोटो छ । १२-१५ वर्षअघि यसलाई हेय दृष्टिले हेरिन्थ्यो, तर अहिले सबैजना चिन्तनशील हुनुभएको छ, त्यो सन्तोषजनक क्षेत्र हो ।

‘गैसस आफैँ आफ्नो दायित्वप्रति अपरिपक्व छ । जबसम्म ऐन बदलिँदैन तबसम्म समाज कल्याण परिषद्को ऐनभित्र बस्नैपर्छ । विभिन्न नीति, कार्यनीतिअनुसार व्यवस्थित गरिनेछ,’ समाज कल्याण परिषद्का डा. टीका पोखरेलले भने ।

पत्रकार सिचेन्द्र विष्टका अनुसार नेपालमा दिगो विकास गर्नका लागि मौलिक कुरालाई बढावा दिनुपर्छ, त्यसकारण विदेशी संस्थाहरूभन्दा गठीलाई ध्यान दिनुपर्ने हुन्छ । ‘नेपालमा भेडासंस्कारको विकास भएको छ, जसले जे गऱ्यो सबैले त्यसै गर्छन् । सम्पूर्ण गैससहरू काठमाडौंमा राख्न दिनुहुँदैन, एउटै परिवारका सम्पूर्ण सदस्य एउटै संस्थामा बस्न नपाउने, सार्वजनिक रूपमा हिसाब देखाउनुपर्ने, गैससको वर्गीकरण गरिनुपर्ने व्यवस्था गर्नुपर्छ,’ डा. कृष्ण भट्टचनले बताए ।

समाजशास्त्रमा अध्ययनरत जनक पाठकले विदेशी दातृसंस्थाको नाममा काम गर्न आउनेहरू गुप्तचरहरू हुन सक्ने र तिनीहरूले नेपाललाई खोक्रो बनाउने बताए र अठार वर्षदेखि गैससमा समय बिताउँदै आएका राघव रेग्मीले भने अहिलेसम्म आफूले तीतो अनुभव मात्र गरेको बताए ।

गैसस जसको लागि भनेर खोलिन्छ, जेको लागि भनेर खोलिन्छ वास्तवमा तिनीहरूले नै थाहा पाइरहेका हुँदैनन्, त्यसकारण दिनहुँ दर्ताका लागि भिडभाड हुने गैससहरू कसका लागि खुल्छन् र कसको हितको लागि खुलेका छन् भन्ने लेखाजोखा जबसम्म सम्बन्धित निकायले राख्दैनन् तबसम्म यसप्रकारको मनोबल बढिरहने कुरामा दुईमत छैन ।

(घटना र विचार साप्ताहिक, २०५४ माघ २९ गते बुधबार)