खरिद मूल्य बढे पनि पेट्रोलियम पदार्थको मूल्य यथावत रहने

4 Shares

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएको छ । तर आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको जानकारी निगमले दिएको छ ।

आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । तर, यस पटक मूल्य यथावत राख्ने निर्णय गर्नुलाई सरकारी स्तरको विशेष रणनीति ठानिएको छ ।

आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतको भनाई छ । उनका अनुसार उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ ।

करीब डेढ महीनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले खरिद मूल्यमा कमी आई यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत एक अर्ब ६ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।

बताइएअनुसार चालु आवको दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वका कारणले स्वचालित मूल्यप्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले दुई अर्ब ३७ करोड नोक्सानी व्यहोर्नु परेको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रहेको छ ।

सरकारले जनतालाई कुनै राहत दिन नसकेकोमा आलोचना खेप्दै आएको परिवेशमा खरिद मूल्य बढे पनि उपभोक्ता मूल्य यथावत राखेर सरकारले जनमुखी हुन खोजेको सन्देश प्रवाहित गर्न चाहेको अनुभूति गरिएको छ ।

4 Shares

प्रतिक्रिया