नवलपरासीमा बँदेलआतंक : बालीनालीमा क्षति, जनजीवन त्रस्त

नवलपरासीमा बँदेलआतंक : बालीनालीमा क्षति, जनजीवन त्रस्त


पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेलआतंक बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

नजिकैको जंगलबाट आएका बँदेलले आतंक मच्चाउनुका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेका छन् । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पु¥याउनुका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् ।

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं. २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं. १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिए ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताए ।

बँदेलले आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।