चितवनमा दर्ता भएका मुद्दामा एकतिहाइ सम्बन्धविच्छेदका

चितवनमा दर्ता भएका मुद्दामा एकतिहाइ सम्बन्धविच्छेदका


चितवन जिल्ला अदालतमा चालू आवको ६ महिनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका छन् । चालू आवको ६ महिनामा परेका एक हजार ४३८ मुद्दामध्ये ५०६ सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढी छ ।

कार्यालयका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ । श्रीमान वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धविच्छेद गर्ने गरेको भेटिएको उनको भनाइ छ । यसबाहेक कक्षा १२ उत्तीर्ण गरेर वैदेशिक प्रयोजनका लागि मात्र वैवाहिक सम्बन्ध कायम गर्ने, तर काम भए वा नभएपछि सम्बन्धविच्छेद गर्ने परम्पराले पनि सम्बन्धविच्छेदका मुद्दा बढेको उक्त कार्यालयले जनाएको छ ।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य इन्दु कोइराला नियम कानुनको सदुपयोग वा दुरुपयोग दुवै कारणले पनि सम्बन्धविच्छेदका मुद्दा बढेको बताउँछन् । वैवाहिक जीवनमा आइसकेपछि महिलामा पनि बढी महत्वाकांक्षा हुने, कलिलो उमेरमै वैवाहिक सम्बन्ध कायम हँुदा परिपक्वता लिन नसक्नेलगायत कारणले सम्बन्धविच्छेदका मुद्दा बढेको उनी बताउँछन् ।

नयाँ कानुनमा पुरुषलाई पनि सम्बन्धविच्छेदको दर्ता गराउन पाउने अधिकार दिएपछि यस्ता मुद्दाको संख्या बढेको सदस्य कोइरालाको भनाइ छ । अहिले सम्बन्धविच्छेदकाका लागि निवेदन दिने पुरुषमध्ये २५ प्रतिशत वास्तविक पीडित रहेको भए पनि अन्य पीडित नभई दोस्रो विवाह गर्न चाहने, परस्त्रीगमनमा लागेका पुरुषका लागि पनि बाटो खुला भएको उनले बताए ।

कार्यालका सूचना अधिकारी पौडेलका अनुसार अदालतमा परेका अन्य मुद्दा जालसाजी, सवारी दुर्घटना, लागुऔषध, चोरी, मानोचामललगायत छन् । अदालतमा चालू आवको हालसम्म एक हजार १३८ मुद्दाको फस्र्योट भइसकेका छन् भने हर्ने बाँकी एक हजार ३७० मुद्दा छन् । यीमध्ये एक हजार ७० मुद्दा अघिल्लो आवका छन् ।