घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ले स्थानीयलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जनतालाई गाउँघरमा सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले सेवाग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्राहीलाई घरमै पुगेर हातहातमा वितरण गरिएको गाउँपालिकाका नायवसुब्बा कृष्ण रोकायाले बताए । वडा नं. ५ का ५५१ सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ताबापतको चौमासिक भत्ता वितरण गरिएको उनले जानकारी दिए ।

वडाध्यक्ष भीमराज शाहीले आफैँ घरघरमा पुगेर भत्ता वितरण गरेका हुन् । सत्तरी वर्षभन्दा माथिका ८०, २६४ बालबालिका र ६० वर्षमाथिका २०७ सेवाग्राहीलाई भत्ता वितरण गर्न रु. १८ लाख ५० हजार बजेट खर्च भएको रोकायाले बताए ।

सामाजिक सुरक्षा भत्ताबापत हाल ज्येष्ठ नागरिकले मासिक चार हजार, ६० वर्षमाथिका नागरिकलाई मासिक रु. दुई हजार र पाँच वर्षमुनिका बालबालिकालाई बाल अनुदान मासिक ४ सय रकम वितरण गरिएको छ ।
रासस