कोलम्बियामा कारबम आक्रमणमा २१ को मृत्यु

कोलम्बियामा कारबम आक्रमणमा २१ को मृत्यु


कोलम्बियामा कारबम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । यसै घटनालाई लिएर कोलम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यालयमा भएको कारबम आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो ।

यस देशमा गएको १६ वर्षयताको यो सबैभन्दा भीषण आक्रमण भएको सरकारी अधिकारीहरूले बताएका छन् । आतंककारीहरूले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारीसाधन विस्फोट गराएको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

दुर्भाग्यवश यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरूमा आक्रमणकारी समेत रहेकासो समाचारमा बताइएको छ । यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा दिएको जानकारीअनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए ।

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति डुक्वेले उक्त दुःखद घटनापछि गरेको ट्विटमा लेखेका छन्, ‘सबै कोलम्बियाली आतंकवादलाई अस्वीकार गर्छन् र सबै एक भई आतंकवादविरुद्ध लड्नेछन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन ।