राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा


दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा माघ ३ गते बिहीबार भएको क्वार्टरफाइनल खेलबाट सफलता हात पार्दै एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

पहिलो क्वार्टरफाइनल खेलमा एपीएफले आर्मीलाई २५–१५, २५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३, २५–६ र २५–१७ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपीएफसँग भेट पक्का गरेको छ । त्यसैगरी प्रदेश ३ ले प्रदेश १ लाई २५–३, २५–१४ र २५–१० को सोझो सेटमा हरायो । नेपाल पुलिसले प्रदेश २ लाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रदेश ३ सँग भेट पक्का गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टिमले अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि प्रथमले नगद रु. ३ लाख ५० हजार, दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले सान्त्वनास्वरूप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरूमा बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।