क्षमता ५० तर कैदीबन्दी २ सय ७४

क्षमता ५० तर कैदीबन्दी २ सय ७४


दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् ।

कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् ।

कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि समस्या हुने गरेको बताए । ‘कैदीबन्दीका लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाटलाई दुई लाइन बनाइएको छ’, उनले भने, ‘कैदीबन्दीकै लागि भनेर भान्सा कोठा र कोठा बाहिरको खाली ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइए पनि उनीहरु अटाउन मुस्किल परिरहेको छ । अब खाटमाथि खाट जोडेर पनि सुत्न दिने व्यवस्था गरिरहेका छौँ ।’

यहाँ धेरै कैदीबन्दी भएकाले उनीहरुलाई अन्यत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भएपछि उनीहरु अन्यत्र जान सकेका छैनन् । कहिलेकाहीँ त अदालतले कैदको समय नतोकेर धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले ह्वात्तै कैदी थपिँदा उनीहरुको खानपान र सुत्नका लागि समस्या हुने गरेको कारागार प्रमुख भुसालले बताए ।

घोराहीमा विसं २०५८ मा कारागार भवन बनेको थियो । उनका अनुसार क्षमताभन्दा धेरै कैदीबन्दी भए पनि खानेपानीको व्यवस्था, नियमित स्वास्थ्य जाँच र खेलकूदका सामग्रीका साथै सबै पत्रपत्रिका एवं पुस्तकालयको व्यवस्था गरिएको छ । कारागारको नियमानुसार आइतबार, मङ्गलबार र बिहीबार आफन्तसँग भेटघाट गर्न अन्य बार आफन्तसँग फोनमा कुरा गर्न पनि दिइएको छ । त्यहाँका केही कैदीबन्दीले काठबाट निर्माण हुने टेबल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।