गोली प्रहारबाट घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौ पुऱ्याइयो

गोली प्रहारबाट घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौ पुऱ्याइयो


राजविराज । सप्तरीमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रहरी हवल्दारलाई थप उपचारका लागि काठमाडौ पुऱ्याइएको छ ।

घाइते प्रहरी हवल्दार महेन्द्र सतरालाई थप उपचारका लागि विहीबार काठमाडौं लगिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए । महेन्द्रको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

खड्ग नगरपालिका—८ स्थित प्रहरी चौकी बिसनपुरमा कार्यरत प्रहरी हवल्दार सतरामाथि बुधबार राति अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

भारतीय नम्बर प्लेट भएको एकसहित तीनवटा मोटरसाइकलमा आएको उक्त समूहले खड्ग नगरपालिकाकै बोदे बर्साइन सडकखण्डमा ड्यूटीमा रहेका सतरामाथि पछाडिबाट गोली हानी दक्षिणतर्फ भागेको प्रत्यक्षदर्शीले बताए ।

उनको ढाडमा एउटा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका सतरालाई यसअघि बुधबार राति उपचारका लागि विराटनगर लगिएको थियो । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं लगिएको एसपी बिष्टले बताए ।

घटनास्थलबाट पड्केको एक थान खोका, चारवटा गोली लोड भएको म्यागजिन र प्रगतिशील तराई मुक्ति मोर्चा नामक संगठनको पर्चा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता रिमालले बताए । गोली हान्ने समूहको खोजी कार्य प्रहरीले रातभर गरेको र खोजीकार्य जारी रहेको प्रवक्ता रिमालले बताए ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट सहितको टोली घटनास्थल पुगेका थिए ।